RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२५ गते
५९३ पटक

नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गरेसँगै अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई लाभ पुग्ने भएको छ ।

यसअघि प्रतिकिलोलिटर ८९३ अमेरिकी डलर रहेकोमा १७८ ले घटाई नयाँ बिक्री मूल्य ७१५ प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा निगमलाई ४० प्रतिशतसम्म नाफा छ । आइतबार निगम सञ्चालक समितिको बैठकले कोरोना महामारीका कारण सिर्जना भएको वर्तमान अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित गरेको छ ।

निगमको पछिल्लो निर्णयले नेपाल वायुसेवा निगमलाई बढी लाभ हुने देखिएको छ । निगमले काठमाडौंलाई आधार बनाएर बाह्य देशमा उडान भर्ने भएकाले गर्दा निगमलाई बढी लाभ हुनेछ ।

निगमको पछिल्लो निर्णयसँगै वायुसेवा निगमले सोमबार विज्ञप्ति जारी गर्दै कार्गो र चार्टर्ड विमानको भाडा कटौती गरेको छ । निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशतले कटौती गरेसँगै सोमबारबाट नै लागु हुने गरी भाडा कटौती गरेको हो । वायुसेवाले वाइड बडीको भाडा १३ प्रतिशत र न्यारो बडी विमानको भाडा १५ प्रतिशतले घटाएको छ ।

जसअनुसार न्यारो बडीको भाडा प्रतिघण्टा ७ हजार ७ सय १० डलरबाट १ हजार १ सय ३० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा ६ हजार ५सय ८० डलर कायम गरेको छ । वाइड बडी विमानको भाडा यसअघि कायम रहेको प्रतिघण्टा १५ हजार ५ सय २० डलरबाट २ हजार ६० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा १३ हजार ४सय ६० डलर कायम गरेको छ ।

नेपालमा भरिने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य महँगो भई नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको तर्फबाट वायुुुसेवा निगमले सम्वन्धित निकायमा पटक पटक आवाज उठाउँदै आएको निगमले जनाएको छ । त्यसैलाई सम्बोधन गर्दै इन्धनको मूल्य घटाइएको निगमको भनाइ छ ।

कारोबार दैनिकबाट…………

प्रतिकृया दिनुहोस्