RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२५ गते
७६२ पटक

सरकारले कोभिडविरुद्धको खोप खरिदका लागि २६ अर्ब बजेट विनियोजन गरे पनि लक्षित उमेर समूहले खोप पाउने सुनिश्चिता हुन सकेको छैन ।खोप नपाइरहेका बेला सरकारले यसको खरिदका लागि गर्नुपर्ने प्रक्रियामा भने सुस्तता देखिएको छ । सरकारले पनि खोप तत्काल उपलब्ध हुन नसकेको संकेत गर्दै खोप ल्याउने प्रयास गरिरहेको जनाएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शेरबहादुर तामाङले सरकारले खोप प्राप्त गर्ने क्षमता अनुसार सबै नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने योजना रहेको बताए पनि नेपालले तत्काल खोप पाउन नसक्ने देखिन्छ ।

नेपालले हालसम्म खरिद गरेको ५ लाख डोज खोप बाहेक अनुदानमा पाएको सहित लभगग ३९ लाख खोप लगाइसकिएको छ । खोप उत्पादन गर्ने देशसँगको समन्वयमा खोप उपलब्ध गराउने सरकारी योजना भएपनि अघि नेपाल लगाइसकेको कोभिसिल्ड खोप तत्काल आउन नसक्ने देखिएको मन्त्रालयले जनाएको छ । हालै मात्र नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड खोप उत्पादक कम्पनीले तत्काल उपलब्ध गराउन नसक्ने जनाइसकेको छ ।

मन्त्रालयले सूचना नै सार्वजानिक गरेर कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने खोप उपलब्ध नहुने जनाएको छ । सरकारले राष्ट्रिय कोभिड–१९ खोप परिचालन कार्ययोजना अनुसार प्राथमिकीकरण गरिएका विभिन्न पेशागत, उमेर एवं दिर्घ रोग भएका समूहहरुलाई विभिन्न चरणमा खोप दिने लक्ष्य अनुरूप २ प्रकारका खोपहरुको प्रयोग गरि अभियान संचालन गरिँदै आएको छ ।

मन्त्रालयले फागुन २३ गते देखि चैत्र १० गते सम्म कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुको दोश्रो मात्रा लगाउने समय भईसकेता पनि उत्पादक कम्पनिसँग सम्झौता भई अग्रिम भुक्तानी समेत भइसकेको र कोभ्याक्स सुविधा वाट प्राप्त निर्णय सहितको भरपर्दो पत्रको आधारमा दोश्रो मात्राको सुनिश्चितता गरेको थियो । तर खोपको निर्यात सम्बन्धि निर्णयले उत्पादक कम्पनी र कोभ्याक्स सुविधा अन्तर्गतको दुबैले खोप उपलब्ध गराउन असमर्थ भएको पत्र पठाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गरेर खोप प्राप्त नभएका कारण तोकिएको मितिमा खोपको मात्रा दिन नसकिएको जानकारी गराउँदै उक्त खोपको विकल्पमा एउटै प्रकृतिको अस्ट्राजेनिका खोप नेपाललाई प्राप्त भए पश्चात १२ हप्ता पछि पनि सो खोपलाई दोश्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।

सरकारले खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिसकेको भएपनि खोप तत्काल पाउने नसकिने देखिएको छ । साउनपछि बजेट विनियोजन हुने भएपनि कोभिसिल्डको वैकल्पिक खोप खरिदको प्रक्रिया समेत सुस्त देखिएको छ ।

सुरुमा नेपाल सरकारले भेरोसेल खोप १८ देखि ५९ वर्ष उमेर समूहका लागि मात्रै लगाउन मिल्ने भनेर सो उमेर समूहलाई लगाउने व्यवस्था गरेको थियो तर अहिले फेरि सोही भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाइँदैछ । पहिले नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिए अनुसार भेरोसेल खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाइएको थियो ।

त्यस बेला ६० वर्ष भन्दा माथिको उमेर समूहमा यो प्रभावकारी तथा सुरक्षित भए नभएको यकिन भइसकेको थिएन तर हाल उपलब्ध प्रमाण तथा विश्लेषणका आधारमा विश्व स्वास्थ्य संगठनले वैशाख २४ गते ६० वर्ष भन्दा माथिका उमेर समूहलाई पनि प्रयोग गर्न मिल्नेगरी आपतकालिन प्रयोग अनुमति दिएको छ ।

साथै ६० देखि ६४ वर्ष उमेर समूहले हालसम्म खोप नपाएको र उक्त उमेर समूह कोभिड संक्रमणको उच्च जोखिममा पर्ने भएकोले पछिल्लो खोप अभियानमा नेपाल राष्ट्रिय खोप सल्लाहकार समितिले सो उमेर समूहलाई सिफारिस गरे अनुसार नेपाल सरकारले खोप दिन लागेको मन्त्रालयले जनाएको छ ।

कारोबार दैनिकबाट…………

प्रतिकृया दिनुहोस्