RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२५ गते
८५२ पटक

अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप खेल्ने नेपालको सपना पूर्ण रूपमा समाप्त भएको छ । सोमबार भएको खेलमा जोर्डनसँग ३–० गोलले पराजित भएसँगै नेपालको कतार विश्वकप सपना दोस्रो चरणको छनोटमै टुंगिएको हो ।

नेपाललाई तेस्रो चरणको छनोटमा स्थान सुरक्षित गर्दै कतार विश्वकप खेल्न जोर्डनविरुद्धको खेलमा जित अत्यावश्यक थियो । यद्यपि, खेलको सुरुवातबाटै रक्षात्मक देखिएको नेपालले आफूलाई आवश्यक नतिजा निकाल्न सकेन ।

दोस्रो चरणको छनोटका आठ समूहको विजेता एक–एक र दोस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट चार गरी १२ टोली कतार विश्वकपको तेस्रो चरणको छनोट प्रतियोगितामा पुग्ने व्यवस्था छ । छनोटका सुरुवाती प्रायः खेलमा पराजय व्यहोरेको नेपालको तेस्रो चरण प्रवेश गर्ने सम्भावना गणितीय रूपमा मात्रै बाँकी थियो । जोर्डनसँगको पराजयपछि त्यही गणितीय सम्भावना पनि समाप्त भएको हो ।

यससँगै नेपाल विश्वकप छनोट इतिहासमा फेरि पनि दोस्रो चरण पार गर्न असफल देखिएको छ । नेपालले यसअघि ७ वटा विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुँदा ६ पटक पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोटमा भने पहिलो चरण पार गरेको नेपाल दोस्रो चरणभन्दा अघि बढ्न सकेन । नेपालले यसपटक वरीयताका आधारमा सीधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो ।

नयाँ पत्रिका दैनिकबाट………

प्रतिकृया दिनुहोस्