RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२६ गते
४९७ पटक

गोरखा : गोरखा नगरपालिका–६ ढाँडगाउँका मनबहादुर गुरुङ गत फागुन २४ गते बसाईसराइको प्रमाणपत्र बनाउन पुरानो थलो मुच्चोक जानुपर्ने भयो। तर, बाटो खर्च नभएपछि गुरुङले स्थानीय चिनीमाया कुँवरलाई ३ हजार रुपैयाँ सापट मागे। त्यसबापत उनले श्रीमती कृष्णदेवी विकको नाममा रहेको लालपुर्जा बन्धक राख्नुपर्‍यो।

सोही ठाउँका कुलबहादुर विकलाई भूकम्पमा भत्किएको घर बनाउँदा–बनाउँदै शौचालय बनाउन पैसा पुगेन। लालपुर्जा राखेर ३६ प्रतिशत ब्याजमा ऋण लगानी गर्दै आएका बुङ्कोट घर भई हरमटारी बस्ने पूर्णकुमार श्रेष्ठसँग ५० हजार रुपैयाँ सापट लिए। त्यसबापत कुलबहादुरले श्रेष्ठलाई एक कित्ता जग्गा मालपोतमा गई राजीनामा पास गरेर दिएका छन्।

‘सावाँ ब्याज तिरिसकेपछि लालपुर्जा फिर्ता दिन्छु भनेको छ’, कुलबहादुर भन्छन्, ‘अब ९ हजार मात्र तिर्न बाँकी छ। अस्ति बल्लतल्ल ७ हजार रुपैयाँ पुर्‍याएर तिर्न गएको, अपूरो लिन मानेन। सप्पै एकैचोटी तिरे मात्र लिन्छु भन्यो।’ ५० हजार रुपैयाँको सावाँ ब्याज गरेर तीन वर्षमा डेढ लाख तिरेको उनी सुनाउँछन्।

उनका भाइ सुरजमान विकले पनि २ लाख ऋण लिएबापत बसपार्कका भाँडा पसले हरि श्रेष्ठलाई एक कित्ता जग्गा राजीनामा पास गरेर दिए। भूकम्पले भत्किएको घर बनाउन सुरजमानले साहूसँग सयकडा तीन ब्याजदरमा २ लाख ऋण लिएका हुन्। ‘जहिले तिर्न सक्छु त्यही बेला जग्गा फिर्ता गर्दिन्छन्’, उनी भन्छन्।

अर्की स्थानीय झलकमाया विकले छोरालाई वैदेशिक रोजगारीमा पठाउन शक्तिचोकमा ब्युटिपार्लर व्यवसाय गर्ने रूपा श्रेष्ठसँग ७ लाख रुपैयाँ ऋण लिइन्। त्यसबापत घरबारी साहूको नाममा राजीनामा पास गरेर दिएको झलकमाया बताउँछिन्। ‘सयकडा तीन रुपैयाँका दरले महिनापिच्छे ब्याज तिरिरहेकी छु’, उनी भन्छिन्, ‘खै सम (सावाँ) कहिले तिरेर जग्गा फिर्ता लिने हो थाहा छैन।’

यस्तै, ईश्वरी कामीले भान्जालाई व्यवसाय गर्न बसपार्कका सुनचाँदी व्यवसायी दीपेश घिमिरेसँग ४ लाख रुपैयाँ सापट लिइन्। त्यसबापत घिमिरेको नाममा जग्गा राजीनामा पास गरेर दिइन्। ‘चार वर्षअघि ४ लाख लिएको हो। पोहोर हिसाब किताब गर्दा १७ लाख ५० हजार तिर्नु छ भनेको थियो। अहिले कति पो भयो होला’, ईश्वरी भन्छिन्।

गोरखा नगरपालिका–५ डण्डीडाँडाका हरिबहादुर रोकाले बसपार्कका भाँडा पसले हरि श्रेष्ठसँग ३ लाख रुपैयाँ सापट लिए। त्यसबापत चार रोपनी जग्गा श्रेष्ठको नाममा राजीनामा पास गरेर दिए। २०७४ सालमा लिएको ऋणको सयकडा तीनका दरले ब्याज तिर्ने गरी सापटी लिएको रोका बताउँछन्। तर, ऋण तिर्न नसक्दा घरजग्गा लिलाम हुन लागेको उनकी छोरी पूजा विक सुनाउँछिन्।

‘सम र ब्याज गरेर तिमीहरूको जग्गा लिलाम भइसक्यो। खुरुक्क जग्गा निखन्न आउने भए आइज, नत्र घरमा चापी लगाइदिन्छु भनेर सधैं तनाब दिइरहन्छ’, पूजा भन्छिन्, ‘तिर्ने उपाय केही छैन। ऊचाहिँ मान्छेको अगाडि जथाभावी गाली गर्छ। अपमान गर्छ। साहूको डाँकोले ११ कक्षा पढ्ने भाइहरू टोलाइरहन्छन्।’

अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्