RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२९ गते
७३० पटक

लन्डन — बेल्जियम युरो २०२० मा शीर्ष वरीयताको टिममात्र होइन । बेल्जियम सबैभन्दा अनुभवी टिम पनि हो । टिमका २६ खेलाडीको ‘क्याप’ जोड्दा १ हजार ३ सय ३८ पुग्छ । औसत प्रत्येक खेलाडीले ५० पल्ट बेल्जियमका लागि खेलिसकेका छन् । यसले प्रस्ट पार्छ, रोबर्टो मार्टिनेजको टिम कति धेरै अनुभवी छ । अझ चार खेलाडीले सयभन्दा बढी ‘क्याप’ जितिसकेका छन् । विंगर ड्रिस मर्टेन्सले ९९ औं क्याप जित्नेछन्, यदि बेल्जियमले शनिबार रुसको सामना गर्दा उनी मैदान उत्रन पाएछन् भने ।

प्रतियोगितामा यस्तो अन्य १९ खेलाडी छन्, जसले देशका लागि सय ‘क्याप’ को कोसेढुंगाको उपलब्धि छोइसकेका छन् । यसमा सबैभन्दा अगाडि त क्रिस्टियानो रोनाल्डो नै छन् । इजरायलविरुद्धको मैत्रीपूर्ण खेलमा उनले १ सय ७५ औं क्याप जिते । उनको गोलसंख्या पनि १ सय ४ पुगिसकेको छ । उनी अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो देशका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुनेक्रममा छन् । पाँचौं युरो खेल्न लागेका रोनाल्डो यो प्रतियोगिताका सबैभन्दा बढी २१ खेल खेलिसकेका खेलाडी पनि हुन् ।

रोनाल्डो ३६ वर्षका भए । तर उनी अझै युरो २०२० का सबैभन्दा पाका खेलाडी होइनन् । डच गोलरक्षक मार्टेन स्टेकेलनबर्ग उमेरमा अगाडि छन् ३८ वर्षका । यसपल्टको प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडी भने पोल्यान्डका केस्पर कोजलोस्की हुन् । उनी १७ वर्षका भए । इंग्ल्यान्डका जुड बेलिङ्घम भने १८ वर्षका भए । स्पेन भने सबैभन्दा युवा टिम हो । टिमको औसत उमेर २४.५ वर्ष रहेको छ । स्विडेन भने सबैभन्दा पाको टिम हो, २९.२ वर्षको उमेरसँगै ।

कप्तानमध्ये स्कटल्यान्डका एन्ड्र्यु रोबर्टसन सबैभन्दा कान्छा छन् । उनी भर्खर २७ वर्षका भए । युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलेका चेल्सी र म्यानचेस्टर सिटीका १५–१५ खेलाडीले युरो २०२० खेल्दैछन् । यसमा कुनै आश्चर्य छैन । बायर्नका १४ खेलाडीले पनि यसपल्टको युरो खेल्नेछन् । इंग्ल्यान्डले २६ मध्ये सबैभन्दा बढी २३ खेलाडी घरेलु इंग्लिस लिग खेल्ने खेलाडी राखेको छ । इटालीमा २३ सिरी ‘ए’ खेल्ने खेलाडी छन् ।

यत्तिकै संख्यामा रुसी टिममा त्यहाँको लिग खेल्ने खेलाडी छन् । यसको ठीक उल्टो फिनल्यान्ड र स्लोभाकियाले आफ्नो लिग खेल्ने एक–एक खेलाडीलाई मात्र टिममा राखेका छन् । युरोपेली फुटबल महासंघले १४ देशका १९ रेफ्रीलाई छनोट गरेको छ । त्यसमध्ये एक रेफ्री युरोपका होइनन् । यी हुन् अर्जेन्टिनी । यस्तै प्रतियोगितामा आठ देशका २२ भिडियो रेफ्री हुनेछन् । यी सबै भिडियो रेफ्रीले महासंघको मुख्यालय नियोनमा रहेर काम गर्नेछन् ।

ई कान्तिपुर

प्रतिकृया दिनुहोस्