RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१ गते
१८४८ पटक

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४.३ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी २३.६ प्रतिशतले बढेको हो । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर २३.१ प्रतिशत छ ।

यसैगरी चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको चालू खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९६ अर्ब १८ करोडले घाटामा रहेकोमा यस वर्ष यस्तो घाटा निकै बढेको छ । चालू खाता घाटाले अन्य देशबाट खुद सापटी लिइएको र चालू खाता बचतले अन्य देशलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

१० महिनाको अवधिमा शोधनान्तर स्थिति पनि ७ अर्ब ७५ करोडले मात्र बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो । गत वर्षको असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले घटेर वैशाख मसान्तमा आइपुग्दा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । यसले मुलुकको वैदेशिक आयमा कमी हुन थालेको संकेत गर्छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा ०.५ प्रतिशतले घटेर १२ खर्ब १९ अर्ब ८१ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल आन्तरिक कर्जा १८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो कर्जा १०.५ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने २३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.८ प्रतिशतले बढेको छ । यस वर्षको वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७७ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.४ प्रतिशत र १३.२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ को १० महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८.३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १५.१ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७.६ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.६ प्रतिशतले, ओभर ड्राफ्ट कर्जा २७.७ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २०.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ११.४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.२ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा ४६.५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको छ ।

यसैगरी, १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप पनि १४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.२ प्रतिशतले बढेको छ । वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३४.३ प्रतिशत र ४९.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो ।

१० महिनामा पुँजीगत ट्रान्सफर ११.५ प्रतिशतले वृद्धि भई १३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९.२ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राजधानी दैनिकबाट………

प्रतिकृया दिनुहोस्