RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१ गते
७९६ पटक

दार्चुला, काठमाडौं — लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको नेपाली भूभाग वर्षौंदेखि अतिक्रमण गरेको भारतले दार्चुलास्थित महाकाली नदी क्षेत्रमा बारम्बार हेपाहा प्रवृत्ति र बलमिच्याइँका घटना दोहोर्‍याएको दोहोर्‍यायै छ ।

खासगरी महाकालीको प्राकृतिक बहावलाई असर पार्ने र नदीको धार नेपालतर्फ धकेल्ने खालका गतिविधि भारतीय पक्षबाट रोकिएको छैन । एक वर्षयता मात्रै भारतीय बलजफ्तीका चारवटा घटना महाकाली तटीय क्षेत्रमा भएका छन् ।

भारतीय पक्षले महाकाली नदी तटीय क्षेत्रमा कतै सीमा अतिक्रमण र अनधिकृत रूपमा भौतिक संरचना निर्माण गरेको छ भने नेपाली भूभागका केही ठाउँमा नोक्सान हुने गरी पारिपट्टि सडक खनिरहेको छ । सामरिक हिसाबले अति महत्त्वपूर्ण ठाउँमा भारतीय

अतिक्रमणजन्य र एकतर्फी सीमावर्ती संरचना निर्माण हुँदा त्यसलाई रोक्न सरकारले प्रभावकारी रूपमा प्रयास भने गरेको देखिँदैन । औपचारिकता पूरा गर्न भारतीय पक्षलाई कूटनीतिक र प्रशासनिक रूपमा ध्यानाकर्षण गराइहाले पनि उसले खासै चासो दिएको छैन । बरु बलमिच्याइँपूर्ण रूपमा बनाइएका संरचनाको काम सक्नेतर्फ उसको ध्यान केन्द्रित छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले दार्चुलाको महाकाली तटीय क्षेत्रमा नेपाली भूभागमा परेको असरजन्य गतिविधि रोक्न गरिएका कतिपय पत्रको भारतले जवाफ पनि नदिएको बताए । जसका कारण आफ्नो स्वार्थअनुकूलका संरचना भारतीय पक्षले निर्वाध रूपमा बनाइरहेको छ ।

दार्चुला सदरमुकाम खलंगामा महाकाली नदीको धार नेपालतर्फ धकेल्ने गरी निर्माण गरिएको करिब डेढ सय मिटर तटबन्ध होस् वा व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा गत वर्ष सेनाबाट निर्माणाधीन घोडेटोमा पुर्‍याएको व्यवधान । यतिमात्र होइन, पछिल्लो पटक गएको मंगलबार व्यासकै दुम्लिङ–कल्जु गाउँ जोड्ने महाकाली किनारकै नेपालतर्फको घोडेटो/गोरेटो भारतीयबाट भत्काइएको छ । त्यस्तै व्यास गाउँपालिका–१, छाङरुनजिकै सीतापुल संरक्षणमा नेपालले प्रयास गर्दा पनि उसले एक महिनाभन्दा बढी समय व्यवधान नै गर्‍यो ।

छाङरुनजिकै महाकाली नदी हुँदै नेपाल–भारत आउजाउ गर्न बनाइएको पुलको संरक्षणमा समन्वय गर्न महाकाली नदी नियन्त्रण आयोजनाले गरेको आग्रहलाई भारतले बेवास्ता मात्रै गरेन, एक महिनासम्म काम अघि बढाउन दिएन । सीमा क्षेत्रमा संरचना बन्न लागेको भन्दै भारतीय सुरक्षाकर्मीले पिथौरागढका जिल्लाधिकारीलाई यसबारे जानकारी दिनुपर्छ भन्दै रोकेका थिए । सीतापुल बेलायतको उपनिवेशबाट भारत स्वतन्त्र हुनुअघिबाटै सञ्चालित काठेपुल हो ।

कान्तिपुर दैनिकबाट………….

 

प्रतिकृया दिनुहोस्