RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१ गते
१५०९ पटक

आज प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने भएका छन्। प्रदेशहरूमा नीति तथा कार्यक्रम आइसकेको छ। आज सबै प्रदेशहरूले बजेट ल्याउने तयारी गरिरहेका छन्।

यसपटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बताइएको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रदेशहरूको पनि प्राथमिकतामा परेको छ।

विकास निर्माणका गतिविधिहरूलगायतमा पनि बजेट केन्द्रीत रहने प्रदेशहरूका नीति तथा कार्यक्रमले देखाएका छन्।प्रदेश नम्बर १ मा आज अपरान्ह ३ बजे प्रदेश सभा बैठक छ। उक्त बैठकमा बजेट आउनेछ।

यस्तै प्रदेश नम्बर २ मा अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। बागमती प्रदेशमा अपरान्ह ३ बजे बस्ने प्रदेश सभा बैठकबाट बजेट आउनेछ।

यस्तै गण्डकीमा पनि आजै बजेट ल्याउने तयारी छ। गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै बजेट पढ्ने तयारी गरेका छन्। उनले अर्थ हेर्ने आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेकोले बजेट पढ्न लागेका हुन्।

लुम्बिनी प्रदेशमा आज अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत हुनेछ। कर्णालीमा आज दिउँसो १ बजे र सुदूरपश्चिम प्रदेशमा अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएका छन्।

प्रदेशमा आर्थिक मामिला मन्त्रीले बजेट प्रस्तुत गर्छन्। नीति तथा कार्यक्रम भने प्रदेश प्रमुखले पढ्ने चलन छ।प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने व्यवस्था छ।

प्रतिकृया दिनुहोस्