RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/४ गते
७४१ पटक

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेकाले पीडितहरूको उद्धार र राहतमा खटिन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ। बिहीबार बसेको स्थायी कमिटी सदस्यहरूको भर्चुअल बैठकले त्यस्तो निर्देशन दिएको हो।

बैठकले केन्द्रीय सदस्य डा.गंगालाल तुलाधरको संयोजकत्वमा उद्धार र राहतका लागि परिचालन समिति पनि बनाएको छ। ‘आजको बैठकमा देशभर आएको बाढी पहिरोमा परेकाहरूको उद्धार र राहतका लागि नेता कार्यकर्तालाई खटाउने निर्णय गरेको छ,’ स्थायी कमिटी सदस्य भीम आचार्यले भने। उनका अनुसार बिहीबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनालको पूर्ण स्वास्थ्य लाभको कामना पनि गरेको छ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा तत्कालै नेता तथा कार्याकर्तालाई राहत तथा उद्धारका लागि खटिन आग्रह गरिएको छ। ‘अहिले घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितहरूको पुनस्थापनामा केन्द्रित हुनुपर्ने भएपनि दीर्घकालीन रणनीति र योजनाहरू बनाएर अघि बढ्न जरुरी छ।

पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुनस्र्थापनासहित जोखिम न्यूनीकरण र व्यवस्थापनको समग्र कामलाई संयोजन गर्न पार्टीका पोलिटब्युरो सदस्य क. गंगालाल तुलाधरको संयोजकत्वमा विशेष कार्यदल बनाउने निर्णय गरेका छाैं,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ। घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुनस्र्थापनाका साथै जोखिमयुक्त क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।

‘अब तत्कालै विज्ञहरूसहित जनवर्गीय एवम् पेशागत संगठनहरू, सातै प्रदेशको प्रतिनिधित्व हुने गरी पार्टी नेता कार्यकर्ताहरू, निर्वाचित जनप्रतिनिधिहरूसमेतको सहभागितामा कार्यदललाई पूर्णता दिई घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितहरूको पुनस्र्थापनाका साथै जोखिमयुक्त क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन, पूर्वतयारी गर्न, पूर्वसूचना प्रणालीको विकास गर्ने जस्ता कार्यमा समेत जुट्न हार्दिक आह्वान गर्दछु,’ जारी गरिएको वक्तव्यमा भनिएको छ। बिहीबारको बैठक बाढीपहिराको विषयमा केन्द्रित भएकाले अन्य विषयमा प्रवेश नगरेको स्थायी कमिटी सदस्य आचार्यले बताए।

अहिले एमालेको आन्तरिक विवाद सुल्झेको छैन। नेपाल पक्ष र प्रधानमन्त्री केपी पक्षले छुट्टाछुट्टै पार्टीको गतिविधि गरिरहेका छन्। ओली पक्षले असार २ गतेलाई स्थायी कमिटीको बैठक बोलाएको भए पनि त्यसलाई स्थगित गरेको छ। प्रधानमन्त्री ओलीले पार्टीको विवाद मिलाउने बहानमा नेपाल पक्षका नेताहरूलाई अल्मल्याउने काम गरेको भन्दै नेपाल पक्षभित्रै आलोचना सुरु भएको छ।

नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, तथा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरू विवाद मिलाउने भन्दै पटकपटक छलफल गरेका भए पनि ठोस प्रस्ताव नआएका कारण नेपाल पक्षले त्यसलाई अल्मल्याउने बहानमा मात्रै भन्दै आएको छ।

नागरिक दैनिकबाट…….

प्रतिकृया दिनुहोस्