RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/६ गते
४२७ पटक

यातायात व्यवसायीहरुले सार्वजनिक सवारीको आयु थप दुई वर्ष बढाउन र यथाशिघ्र यातायात सञ्चालनको माग गरेका छन् । कोभिड–१९ का कारण गत वर्षदेखि नै सार्वजनिक सवारी बन्द रहेको र लयमा कहिले फर्किने टुंगो नभएको भन्दै गत वर्षदेखिको समयलाई आधार मानेर करिब २ वर्ष सवारीको शून्य समय थप गर्न र यथाशिघ्र यातायात सञ्चालन गर्न उनीहरुले माग गरेका हुन् ।

सावर्जनिक यात्रुवाहक सवारीले उत्पादन भएको मितिले २० वर्ष मात्र सञ्चालन गर्न पाउने पाउने कानूूनी व्यवस्था रहेको छ । यता रात्रीकालिन यात्रुवाहक सवारीले भने ८ वर्षमात्र सो रात्रीकालीन समयमा सञ्चालन गर्न पाउने कानूनी व्यवस्था छ । सार्वजनिक सवारी क्षेत्रको वर्तमान समस्याका बारेमा सरकारलाई जानकारी गराउँदै महासंघले शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई औपचारिक पत्र पठाउँदै यस्तो माग गरेको छ ।

पत्रमा सरकारले तोकेको मापदण्डको आधारमा यातायात सञ्चालन गर्न तयार रहेको बताउँदै सार्वजनिक यातायातमा संलग्न चालक र सहचालकहरुलाई कोभिड भ्यासिक्नको व्यवस्था गर्न समेत अनुरोध गरिएको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले जानकारी दिए । उनकै नेतृत्वको टोलीले शुक्रबार नै गृहमन्त्री खगराज अधिकारीलाई भेटेर यातायात सञ्चालनको व्यवस्था गर्न आग्रह गरेको थियो । टोलीले जोरबिजोर प्रणाली लागु नगरी सामाजिक दुरीसहितको मापदण्डसहित सबै सार्वजनिक यातायात एक साथ सञ्चालन गर्न अनुरोध समेत गरेको छ ।

कोभिड–१९ पछि सार्वजनिक यातायात बन्दकै अवस्थामा रहेकाले गर्दा यो अवधि सहितलाई मानेर सरकारले २ वर्ष सवारीको सञ्चालन अवधि (आयु) बढाउन माग गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले जानकारी दिए । उनले भने, “कोभिड–१९का कारण सार्वजनिक यातायात बन्द भएर थन्किएर बसेको अवस्था छ । हाम्रो यो समय अनुत्पादक भएर बितेको छ, त्यसैले यो समयलाई सरकारले शून्य समय मानेर २ वर्ष सार्वजनिक सवारीको आयु बढाउनुपर्छ ।”

विगतको नजिरलाई पनि स्थापित गराउन माग गर्दै यो समयमा पनि २ वर्ष थप गर्नुपर्ने माग महासंघले गरेको हो । विगतमा पनि तत्कालिन सरकारले नेपाल बन्द, तत्कालीन समयमा भएको बन्द–हड्ताललाई आधार मानेर सार्वजनिक सवारी २ वर्ष सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

“तत्कालीन अवस्थामा सरकारले बन्द र हड्तालमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाएको समयको पूर्ति गर्दै २ वर्ष सवारीको सञ्चालन अवधि बढाएको थियो,” महासचिव सिटौलाले भने, “तत्कालीन अवस्थाको नजिरलाई आधार मानेर पनि यो विषम समयमा सवारीको सञ्चालन अवधि बढाउनु पर्छ ।”

कोभिड–१९ का कारण सार्वजनिक सवारी बन्द रहेर यो समयमा सार्वजनिक सवारीमा यात्रुको आकर्षण समेत नभएकाले गर्दा यातायात व्यवसायीले ठूलो आम्दानी गुमाएको महासंघले जनाएको छ ।

करिब ११ लाख मजदुर यो क्षेत्रसँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिएकाले करिब ४० देखि ४५ लाखको रोजीरोटी खोसिएको यातायात व्यवसायीहरूले बताउँदै आएका छन् । कोभिड–१९ को पहिलो लकडाउनका कारण मारमा परेको यो क्षेत्र कोभिड–१९ को दोस्रो लहरका कारण यो क्षेत्रको लगानी तथा यो क्षेत्रसँग जोडिएकाहरूको जीवनयापन समस्यामा परेको महासंघले जनाएको छ । मुलुकभर ४ लाखभन्दा बढी सार्वजनिक सवारी छन् । निषेधाज्ञाका कारण सबैको रोजीरोटी र रोजगारी संकटमा पर्दै गएकाले गर्दा व्यवसायी तथा मजदुरहरू समस्यामा परेको महासचिव सिटौलाको भनाइ छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैतबाट करिब ६ महिना बन्द गरेको थियो । लकडाउन र निषेधाज्ञाले यातायात व्यवसायीले रोजीरोटी र जीवनयापनमा कठिनाइ भोगेर थलिएको यो क्षेत्र तंग्रिने क्रममा रहेको थियो । तर पुनः यातायात बन्द हुँदा थप समस्या पर्नुका साथै बैंकको ब्याजसहितको किस्ता तिर्न नसक्ने अवस्थामा छन् ।

सवारी बन्द गरेसँगै करिब साढे ४ लाख सार्वजनिक सवारी ग्यारेजमा थन्किएर करिब १० खर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्र संकटमा पर्दै गएको सिटौलाको भनाइ छ । उनले भने, “रोजिरोटी त गुम्यो नै। लगानी गरेको सवारी अब सञ्चालन गर्न फेरी मर्मत सम्भार गर्नुपर्ने भएकाले गर्दा थप लगानी गरेर सञ्चालन गर्न समस्या रहेको छ ।”

कारोबार दैनिकबाट…………

प्रतिकृया दिनुहोस्