RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/६ गते
६०१ पटक

काठमाडौँ — जर्मनीले युरो २०२० मा उत्कृष्ट पुनरागमन गरेको छ । पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससँग पराजित जर्मनीले शनिबार म्युनिखको एलियान्ज एरिनामा पोर्चुगललाई ४–२ ले पराजित गरी नकआउट चरणतर्फ अग्रसर भएको छ ।

फ्रान्स ४ अंकसहित समूहको शीर्ष स्थानमा छ । जर्मनी र पोर्चुगलको ३–३ तथा हंगेरीको १ अंक छ । सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ, त्यसबाट प्रत्येक समूहका शीर्ष दुई टोली सोझै अन्तिम १६ मा पुग्नेछन् भने तेस्रोमध्येबाट उत्कृष्ट चार टोली पनि नकआउट चरणमा पुग्नेछन् । फ्रान्ससँगको अन्तिम खेलमा पराजय टारेमा पोर्चुगलको नकआउट चरणमा पुग्ने सम्भावना रहन्छ ।

युरोको साबिक विजेता पोर्चुगलले १५औं मिनेटमा गोल गरी जर्मनीलाई स्तब्ध पारेको थियो । बर्नान्डो सिल्भाले मध्यभागबाट दिएको लामो पासलाई अगाडि बढाउँदै डिएगो जोटाले सजिलो अवसर बनाइदिएपछि क्रिस्टियानो रोनाल्डोले ट्यापिङमा गोल गरेका थिए । तर पोर्चुगलका रक्षकहरूबाट दुई आत्मघाती गोल हुन पुगेपछि जर्मनीले मध्यान्तरसम्म २–१ को अग्रता बनाएको थियो । पोर्चगुलका रक्षक रुबेन डियास र राफाइल गुइरेरोले क्रमश: ३५ र ३९औं मिनेटमा आत्मघाती गोल गर्न पुगे ।

एट्लान्टाका विङ ब्याक रोबिन गोसेन्सले खेलमा राम्रो प्रभाव देखाए । उनको क्रसमा काई हाभार्जले ५१औं मिनेटमा जर्मनीका लागि तेस्रो गोल गरे । त्यसको ९ मिनेटपछि किमिचको क्रसमा गोसेन्सले हेडमा चौथो गोल गरे । रोनाल्डोको पासमा जोटाले पोर्चुगलका लागि दोस्रो गोल गरे पनि त्यसपछि खेल जर्मनीले नियन्त्रणमा राख्यो । यस समूहका दुवै अन्तिम खेल बुधबार हुनेछन् ।

प्रतिकृया दिनुहोस्