RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/७ गते
४८० पटक

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै १४ असारसम्म थप गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आर्थिक गतिविधि सुचारु गर्नेगरी निषेधाज्ञाको मोडालिटीमा केही फेरबदल गरी १४ असारसम्म थप गरिएको जानकारी दिए ।

उनका अनुसार मंगलबारबाट उपत्यकामा बारअनुसार पसल खोल्न पाइनेछ भने निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइनेछ । ‘निषेधाज्ञाको मोडालिटी केही फेरबदल गरेका छौं, अब बारअनुसार पसल खोल्न पाइनेछ भने निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइनेछ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने ।

बैठकले ट्याक्सीलाई पनि जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । अन्य सार्वजनिक सवारी साधन भने हाललाई खुला गरिएको छैन ।

निर्णय अनुसार खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । यस्तै, अन्य व्यापार व्यवसायका लागि बार र समय तोकिएको छ ।

कुन बार के पसल खोल्न पाइन्छ ?
आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटोमोबाइल र त्यसका पार्टपुर्जा पाइने पसल खोल्न पाइनेछ ।

यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइनेछ । यसरी खुल्ने पसल बिहान ११ देखि दिउसो ४ बजेसम्म मात्र खोल्न पाइनेछ ।

यसैगरी निर्माण सामग्रीका पसल बिहान ११ बजेबाट साँझ ६ बजेसम्म दैनिक खोल्न पाइनेछ । यस्ता सामग्रीहरूको ठूला सवारीमार्फत गरिने ढुवानी रामती मात्र गर्न पाइनेछ ।

पसल व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्ने तथा अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेछ ।

यसैगरी, विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसम्बन्धी सरकारी कार्यालय आलोपालो प्रणालीमा न्यूनतम जनशक्ति परिचालन गर्ने गरेर स्वास्थ्य मापदण्डको पालना गर्नेगरी खुला गरिएको छ ।

केके गर्न पाइँदैन ?
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङपुल, सैलुन, ब्युटीपार्लर, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशाला र मानिसका भिडभाड हुने सबै प्रकारका कार्यक्रममा भने रोक लगाइने पहिलेको निर्णय कायम गरिएको छ ।

खुला स्थानमा मानिसहरू भेला हुन्, सभा, जुलुस, जात्रा, महोत्सवमा लगाइएको निषेध कायम गरिएको छ । फुटपाथमा हुने व्यवसाय पनि सञ्चालन गर्न पाइनेछैन । पुजारीबाट मठमन्दिरमा हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरूमाथिको रोक कायम राखिएको छ ।

विवाह व्रतबन्ध घरबाट मात्रै गर्न पाइनेछ । यसरी घरबाट हुने विवाह व्रतबन्धमा पनि १० जनाभन्दा जम्मा हुन पाइनेछैन ।
उपत्यकाका तीन जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस्