RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/८ गते
१००५ पटक

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट्याएर कार्य तथा अपराध अनुसन्धान विभाग गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

हाल नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको तीनवटा मात्र दरबन्दी छ । महानगरीय प्रहरी कार्यालय, कार्य तथा अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआइजीको दरबन्दी छ । अब नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको दरबन्दी चारवटा हुनेछ ।

यससँगै भावी प्रहरी महानिरीक्षकको खेलमा पनि परिवर्तन हुनेछ । हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नौ महिनापछि अवकाश पाउनेछन् । त्यो अवस्थामा विश्वराज पोखरेल महानिरीक्षकका एक्ला दाबेदार रहेका भए पनि दरबन्दी थप भएपछि महानिरीक्षक पदमा अब दुईजनाको प्रतिस्पर्धा हुनेछ । हालका डिआइजीमध्ये सहकुल थापा पहिलो नम्बरमा भएकाले उनकै लागि एआइजीको दरबन्दी थप भएको स्रोत बताउँछ । जसकारण उनलाई प्रदेश प्रहरी कार्यालयमा समेत पठाइएको छैन ।

गृह मन्त्रालयले सोमबार सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ । जसअनुसार प्रदेश नम्बर १ मा डिआइजी अरुण बिसी, प्रदेश नम्बर २ मा उमेश रञ्जितकार, बागमती प्रेदशमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्द आचार्य, कर्णालीमा गणेश ऐर तथा सुदूरपश्चिम प्रहरी कार्यालय प्रमुखमा पुरुषोत्तम कँडेलको सरुवा भएको छ । त्यस्तै, प्रदेश नम्बर २ मा कार्यरत धीरजप्रताप सिंहको सिआइबीमा सरुवा भएको छ । विशेष ब्युरोको प्रमुखमा गण्डकी प्रदेशमा कार्यरत घनश्याम अर्यालको सरुवा भएको छ ।

त्यस्तै, गृह मन्त्रालयले १६ एसएसपीको पनि सरुवा गरेको छ । प्रहरी तालिम केन्द्र र नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख हेरफेर भएका छन् । विराटनगरस्थित तालिम केन्द्रमा मीरा चौधरी, प्रदेश प्रहरी कार्यालय काभ्रेमा श्यामलाल ज्ञवाली, प्रदेश प्रहरी कार्यालय पर्सामा उमाशंकर पञ्जियार, सुनसरीमा गोविन्दकुमार साह, पोखरामा कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ ।

प्रतिकृया दिनुहोस्