RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१० गते
४९७ पटक

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ६ असारमा स्वास्थ्य सामग्री लिन इजरायल जाने कार्यक्रम थियो । आइतबार ८:३० मा तोकिएको उडान १२:३० सम्म पनि अनुमति नपाएपछि क्याप्टेनसहितको टोली घर फर्कियो । पुनः मंगलबार बिहान ११:३० लाई तोकिएको उडानलाई इजरायलले अनुमति दिन नमानेपछि पुनः रद्द गरियो । निगम व्यवस्थापनको लापरबाहीले उडानको अनुमति लिन असफल भएको यो पछिल्लो उदाहरण हो । यसअघि गत वर्ष अस्ट्रेलिया र संयुक्त राष्ट्रसंघको चार्टर उडान पनि अनुमति लिन नसकेपछि दुई पटक सारिएको थियो । निगम व्यवस्थापनभित्र योग्य व्यक्तिहरू नहुँदा उडानको अनुमतिसमेत लिन नसक्ने अवस्था आएको छ ।

सरकारी स्वामित्वको निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चार थान जहाज छन् । आवश्यक पर्दा दैनिक आठवटासम्म उडान गर्न सक्छ । तर, निगमकै उच्च अधिकारीहरूको मिलेमतोमा  हिमालय एयरलाइन्सलाई प्राथमिकता दिँदा निगमको उडान रद्द हुने मात्रै होइन, उडान नै कम पाइरहेको अवस्था छ । तर, निगम नेतृत्व भने यस विषयमा बेखबर छ । यसरी पटकपटक व्यवसाय गुम्दासमेत त्यसलाई ‘प्राविधिक विषय’ भन्दै निगमका कर्मचारीहरूले नेतृत्वलाई अलमल्याउने काम गरिरहेको समेत खुलेको छ ।

त्यतिमात्रै कहाँ हो र, निगमको सञ्चालक समितिमै हिमालयको पक्षमा काम गर्ने सदस्यहरूको वर्चश्व रहेको छ । केही महिनाअगाडि मात्रै एमाले प्रवेश गरेका किशोर प्रधानदेखि हिमालयको स्वामित्व भएको यती समूहका एजेन्टका रूपमा काम गर्दै आएका फुर्वाग्याल्जेन शेर्पा र ईश्वरी पौडेल सञ्चालक समितिका सदस्यहरू रहेका छन्, जसको प्रभावमा निगमको बिजनेस खोसेर हिमालयलाई दिने गरिएको छ ।

चार्टर उडान निगमको भन्दा हिमालयको धेरै पछिल्लो समयको निषेधाज्ञामा हिमालयले गरेको १६८ वटा चार्टर उडानमध्ये ११६ वटा कार्गो चार्टर उडान गरेको छ । तीमध्ये अधिकांश उडान निगमका सञ्चालक तथा कर्मचारीको मिलेमतोमा भएको उच्च स्रोतले नयाँ पत्रिकालाई बतायो ।

यसबीचमा नेपाल वायुसेवा निगमले दिल्लीबाट भारतीय नागरिक ल्याउनका लागि उडान गरेको छ । तर, ती भारतीयलाई साउदी अरेबिया लैजान भने एउटा पनि उडान गरेको छैन । ती सबै भारतीय बोक्ने जिम्मा हिमालय एयरलाइन्सले मात्रै पाएको थियो । ४१ दिनको बन्दमा निगमको ३३० वाइडबडीले ३८ उडानमध्ये २० वटा मात्रै कार्गो चार्टर गरेको छ । त्यस्तै, ३२० न्यारोबडी जहाजमार्फत ५१ वटा उडान गरेकोमा १२ वटा मात्रै कार्गो चार्टर गरिएको छ । निगमबाट चार्टर भएका अधिकांश सरकारी चार्टर नै रहेका छन् । भाडादर भने निगम र हिमालयबीच खास अन्तर छैन । हिमालयले ३२० जहाजको ६ हजार ५ सय डलर प्रतिघन्टा लिने गरेको छ । निगमले पनि न्यारोबडीको ६ हजार ५ सय डलरकै हाराहारी र वाइडबडीको १४ हजार डलर प्रतिघन्टा हाराहारी लिने गरेको छ ।

साउदीको उडानमा हिमालयको ज्यादती
हिमालय एयरलाइन्सले रोजगारीमा जाने नेपालीसँग साउदी अरबका लागि २ लाख रुपैयाँसम्म असुल गरेको छ । यद्यपि, सरकारले नियमित उडान अझै खुला गरेको छैन । वैदेशिक रोजगारीमा गएर बिदामा आएकाहरू पुनः साउदी फर्किंदा एकतर्फी उडानको भाडा महँगो तिर्नुपरेको छ । तर, नियामक निकायले बल्ल छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

साउदी जान श्रमिकले म्यानपावरलाई करिब दुई लाख रुपैयाँका अतिरिक्त थप १ लाख रुपैयाँ बुझाउनुपर्छ । यसरी साउदी पुग्नका लागि नै अहिले लाग्ने ३ लाख बुझाउन मात्रै एक वर्षको श्रम खर्चिनुपर्छ ।

कोभिड–१९ संक्रमण बढेपछि सरकारले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिदिएको थियो । बीचमा तीन देश (टर्की, कतार र भारत)मा नियमित उडान खुला गरे पनि नेपालीका अन्य सबै वैदेशिक रोजगारी गन्तव्यको उडान बल्ल खुला गरेको छ । अहिलेसम्म पनि काठमाडौं–दमाम चार्टर उडान हिमालय एयरलाइन्सले गरिरहेको छ । आकल–झुकल सलाम एयरले पनि चार्टर उडान गरिरहेको छ ।

नियमित उडान हुँदा काठमाडौं–दमाम–काठमाडौंको दुईतर्फी उडान भाडा ३० देखि ४५ हजार रुपैयाँ मात्रै हुने गरेको छ । तर, अहिले एकतर्फी भाडा नै १४ दिनको होटेल क्वारेन्टिनसहितको प्याकेज जोडेर २ लाख रुपैयाँ हाराहारी असुल गरिएको छ । जब कि अहिले साउदीको तीनतारे होटेलमा नै १४ दिनको बसाइमा ४० देखि ५० हजार हाराहारी मात्रै खर्च हुन्छ ।

बिजनेस हिमालयलाई, निगमको ऋण भने बढेको बढ्यै
ऋणको ब्याज तिर्न नसकेपछि असारयता निगमको ऋण पौने दुई अर्ब थपियो । गत असारसम्म निगमको ऋण ४४ अर्ब २७ करोड रहेकोमा पुस मसान्तसम्म आइपुग्दा ऋण बढेर ४६ अर्ब १३ करोड ४६ लाख पुगेको थियो । अब असारसम्म त्यो ऋण थप २ देखि ३ अर्ब थप हुने अनुमान गरिएको छ ।

नेपाल वायुसेवा निगमले खरिद गरेका जहाजको ब्याज र किस्ता तिर्न नसक्दा ऋण बढेर ४६ अर्ब १३ करोड ४६ लाख ५ हजार ७ सय २२ रुपैयाँ पुगेको छ । निगमको गत पुस मसान्तसम्म तिर्न नसकेको ब्याजसमेत जोडिँदा झन्डै २ अर्ब ऋण बढेको हो । गत असार मसान्तदेखि पुससम्मको ब्याज मात्रै १ अर्ब ८६ करोड ३८ लाख ५७ हजार ५ सय ८८ रुपैयाँ रहेको छ । जहाज खरिद गर्दा सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको ब्याज र किस्ता तिर्न नसक्दा ऋण बढ्दै गएको हो ।

गत असारसम्म निगमको ऋण ४४ अर्ब २७ करोड ८० लाख ८ हजार १३ रुपैयाँ रहेको थियो । त्यसयता निगमको ऋण झन्डै २ अर्ब बढेको हो । कोरोनाका कारण उडान गर्न नसकेको निगमलाई ऋणमाथि ऋणको भार थपिँदै गएको छ । सात वर्षअगाडि दुई थान एयरबस ३२० जहाज खरिद गर्दा सञ्चय कोषसँग लिएको १० अर्ब रुपैयाँ घट्दै जानुपर्नेमा तीन वर्षअगाडि घटाएर ८ अर्बमा झारिएको ऋण अहिले बढेर पुनः ९ अर्ब ८४ करोड ९८ लाख पुगेको छ ।

एयरबस ३३० जहाज खरिद गर्दा सञ्चय कोषसँग १२ अर्ब ऋण लिइएको थियो । किस्ता र ब्याज तिर्न नसकेपछि उक्त १२ अर्ब ऋण बढेर १४ अर्ब ८३ करोड ८७ लाख ४६ हजार पुगेको छ । त्यस्तै, नागरिक लगानी कोषसँग एयरबस ३३० जहाज खरिदका लागि लिइएको १२ अर्ब ऋण बढेर १४ अर्ब ५५ करोड २५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । निगमको राष्ट्रिय वाणिज्य बैंकबाट ओभरड्राफ्ट लोन ५९ करोड ५२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, हिमालयन बैंकबाट सर्ट–टर्म लोन १ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने सरकारी लोन ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ  ।

नयाँ पत्रिका दैनिकबाट…………

 

प्रतिकृया दिनुहोस्