RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१० गते
४९८ पटक

सरकारले अत्यावश्यक वस्तुका सामान बोकेका गाडी निर्वाधरुपमा चल्न दिने भनेपनि ट्राफिक प्रहरीले ठाउँ ठाउँमा रोकेर अवरोध गरेका छन् ।बिहान ९ देखि ११ र अपरान्ह ४ देखि बेलुका ७ बजेसम्म बाहेक अन्य समयमा मात्र अत्यावश्यकका गाडीमा चल्न दिने भनिएपनि ट्राफिकले जोरविजोर भन्दै सवारी साधन रोकेपछि सामान ढुवानीमा अवरोध आएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेर अत्यावश्यक वस्तुका सामान तोकिएको समयमा चल्न पाउने बताएको छ । तर ट्राफिकले भने जोरविजोर भन्दै सवारी साधन सञ्चालनमा अवरोध पु¥याएको हो । दुग्धजन्य पदार्थ, खाद्यान्न, तरकारी बोकेका गाडीमा समेत जोरविजोर प्रणाली लागु हुँदा ढुवानीमा समस्या भएको व्यवसायीको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले अत्यावश्यक वस्तु बोकेका गाडी जोरविजोर भनेर रोक्दा सामान ढुवानी गर्न समस्या परेको बताए । “अत्यावश्यक सामान बोकेका गाडी निर्वाधरुपमा तोकिएको समयमा चल्न दिनुपर्छ” उनले भने, “ट्राफिक प्रहरीले जोरविजोर भनेर गाडी रोक्दा सामान आपूर्ति गर्न समस्या परेको छ ।”

जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर अत्यावश्यक सामान बोकेका गाडीलाई निर्वाधरुपमा चल्न दिने भनेपनि बीच बीचमा जोरविजोर भनेर गाडी रोक्दा समस्या परेको व्यवसायीको भनाइ छ । सरकारले मंगलबारदेखि निषेधाज्ञा कायम गर्दै बजार पसल खुला गरेर सवारी साधनमा जोरविजोर चलाउन पाइने बताएको थियो ।

ट्राफिक महाशाखाका एसपी श्याम अधिकारीले तोकिएको समय भन्दा अन्य समयमा चल्ने गाडीलाई रोक लगाइएको जानकारी दिए । “तत्काल सड्ने बिग्रने अत्यावश्यक सामान बोकेका गाडीलाई निर्वाधरुपमा चल्न दिएका छौं” उनले भने, “कोरोनाको जोखिम कायम रहेकाले अन्य समयमा हिड्ने गाडीलाई रोक लगाएका छौं ।”

बालकुमारी, चाबहिल, बालाजु, बनस्थली लगायतका ठाउँमा ट्राफिक प्रहरीले गाडी होल्ड हो । अत्यावश्यक वस्तुको ढुवानी गर्ने गाडीमा जोरविजोर लागु गर्न नहुने व्यवसायीको भनाइ छ । जोरविजोर गर्दा सामानको आपूर्तिमा समस्या आउनुका साथै कर्मचारी परिचालन गर्न समस्या भएको व्यवसायीको गुनासो छ ।

यस्तै दूध जस्तो चाँडै बिग्रने अति संवेदनसिल खाद्य पदार्थ ओसार पसार गर्ने ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा जोरविजोर र कार्यालय समयको नाममा सुरक्षा निकायबाट ठाँउ–ठाँउमा अवरोध हुँदा नियमित दूध संकलन, प्रशोधन र बिक्री वितरणमा गम्भीर असर परेको डेरी उद्योगीले बताएका छन् ।

कडा लकडाउनमा समेत बिना रोकतोक आवतजावत गर्न दिइएकोमा अहिले जोरविजोर र कार्यालय समयको नाममा ठाँउ ठाउँमा अवरोध गरिँदा किसान तथा उद्योगी मारमा परेको डेरी उद्योग संघको भनाइ छ । संघका अध्यक्ष राजकुमार दाहालले दूध तथा दुधजन्य पदार्थ ओसार पसार गर्ने सबै सवारी साधनलाई पानी, इन्धन, विद्युत्का गाडीसरह अवरोध नगर्न आग्रह गरेका छन् ।

दूध तथा दुग्धजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधनलाई जोरबिजोर प्रणालीमा नराखी विना रोकतोक सञ्चालन गर्न नहुने संघको भनाइ छ ।गाडीमा जोरबिजोर प्रणालीले अति आवश्यक वस्तुको ढुवानीमा सो कुरा लागू नहुनु पर्नेमा यस्ता ढुवानीका गाडीमा पनि रोकतोक भई समस्या भएकाले सो कुरामा सहजीकरण गरिदिन संघले अनुरोध गरेको छ ।

कारोबार दैनिकबाट……………

प्रतिकृया दिनुहोस्