RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१२ गते
४९१ पटक

चीनले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने जानकारी दिनुभएको हो ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो । शाखा प्रमुख डा. गौतमका अनुसार पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा (बुस्टर डोज) खोप लगाइने तय भएको छ ।

अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने गौतमले जानकारी दिनुभयो ।

‘यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहका ब्यक्तिले दोस्रो मात्रा खोप लाउन पाउनेछन, तर त्यसका लागि उनीहरूले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु अनिवार्य हुनेछ,’ डा. गौतमले भन्नुभयो । पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए ।

६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको गौतमले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्