RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१३ गते
६४१ पटक

चालू आवमा कोरोनाका कारण आर्थिक गतिविधि सुस्त भए पनि वाणिज्य बैंकहरूको कर्जाको विस्तार भने लक्ष्यभन्दा अधिक देखिएको छ । वाणिज्य बैंकहरूको कुल कर्जा लगानी गत साउनमा २९ खर्ब ३ अर्ब रहेकोमा असारको पहिलो सातासम्ममा त्यो ७ खर्ब ४७ अर्बले बढेर ३६ खर्ब ५० अर्ब पुगेको छ । यो गत असार अन्त्यको तुलनामा यो करिब २६ प्रतिशतले वृद्धि हो ।

वाणिज्य बैंकहरूको मात्रै होइन, समग्र बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पनि उत्साहजनक रूपमा बढेको छ । चालू आवको सुरुदेखि वैशाखसम्ममा त्यस्तो कर्जा २४.३५ प्रतिशतले वृद्धि भएर ४० खर्ब ६१ अर्ब पुगेको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा निजी क्षेत्रतर्फको कर्जा विस्तार २० प्रतिशतमा सीमित पार्ने लक्ष्य लिएको छ ।

आयात र सेयर बजारलगायतमा कर्जा प्रवाह उच्च रूपमा बढेको बैंकरहरूले बताएका छन् । यसबाहेक कर तिर्न, कर्मचारीलाई तलब दिन पनि व्यवसायीहरूले कर्जा लिइरहेको उनीहरूको भनाइ छ । नेपाल इन्भेस्टमेन्ट बैंकका वरिष्ठ प्रबन्धक दीपक श्रेष्ठले भने, ‘आयात तथा सेयर धितोमा जानेबाहेक कतिपय व्यवसायीहरूले समयमै ऋण तिर्न सकिरहनुभएको छैन, तर कर तिर्न, कर्मचारीलाई तलब दिन चाहिने चालू पुँजीका लागि उहाँहरूले थप कर्जा लिनुपरेको छ ।’

कोरोनाका कारण व्यापार, व्यवसायमा सुस्तता आए पनि कर्जाको विस्तार उच्च देखिएपछि राष्ट्र बैंकले कर्जा लगानी प्रवृत्तिको अध्ययन गरिरहेको छ । ‘पछिल्लो केही महिनायता कर्जा विस्तार उच्च भइरहेको छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘जबकि व्यवसायहरू बन्द नै रहे, आयात पनि ठिकै छ, केही उद्योग आंशिक चले पनि अन्य बन्द नै रहे, ७५ जिल्लामै निषेधाज्ञा लाग्यो, त्यसैले पनि कर्जा लगानी प्रवृत्तिको अध्ययन गरिरहेका छौँ ।’

कोभिडको पहिलो लहर अन्त्य हुँदै गर्दा बैंक तथा वित्तीय संस्थाहरूमार्फत भइरहेको लगानी र आफ्नो सहुलियत कार्यक्रमले अर्थतन्त्र पुरानै अवस्थामा फर्किएको अपेक्षा राष्ट्र बैंकको थियो । तर, कोभिडको दोस्रो लहरले अर्थतन्त्रमा पुनः गतिरोध भए पनि कर्जा विस्तार उच्चदरमा भइरहेकाले राष्ट्र बैंकले अध्ययन गरिरहेको हो । गभर्नर महाप्रसाद अधिकारीले समेत कोभिडको प्रभाव अब बैंकहरूमा सर्ने बताएका छन् । यही कारण पनि राष्ट्र बैंक चनाखो भएको हो ।

राष्ट्र बैंकको तथ्यांकले भने वैशाखसम्ममा सबैभन्दा धेरै सेयर धितो कर्जामा ८७ प्रतिशतले वृद्धि भएर ९४ अर्ब, आयातका लागि जाने ट्रस्ट रिसिप्ट तथा आयात कर्जा ४६ दशमलव ५ प्रतिशतले बढेर २ खर्ब २ अर्ब, विपन्न वर्गमा जाने कर्जा ४१ दशमलव ४ प्रतिशतले बढेर २ खर्ब ८५ अर्ब पुगेको देखाउँछ । व्यक्तिगत रूपमा बढी प्रयोग हुने अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा र आवधिक (टर्म लोन) कर्जाको वृद्धिदर पनि क्रमशः करिब २८ र करिब २५ प्रतिशतले बढेको छ । यी दुईमा क्रमशः ६ खर्ब २३ अर्ब र ८ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी भएको हो । माग र अन्य चालू पुँजी कर्जामा पनि सो अवधिमा २० प्रतिशतले वृद्धि भएर ८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।

तरलतामा दबाब
वाणिज्य बैंकहरूमा साउनयता ७ खर्ब ४७ अर्बले कर्जा बढ्दा निक्षेप भने ५ खर्ब ४ अर्बले मात्रै बढेको छ । निक्षेप ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको हो । बैंक तथा वित्तीय संस्थाहरूले प्रणालीमा करिब ६–७ अर्ब अधिक तरलता रहेको बताइरहेका छन् । बैंकहरूले एक–अर्कासँग लिने अन्तरबैंक ब्याजदर ४ दशमलव ९ प्रतिशत हाराहारी पुगेको छ । साउनपछि तरलतामा थप दबाब पर्ने अनुमानमा केही बैंकहरूले निक्षेपको ब्याजदरमा केही वृद्धि गरिसकेका छन् ।

‘आर्थिक वर्ष अन्त्य हुन लागेकाले सरकारी खर्च बढ्ने र बैंकिङ प्रणालीमा पैसा आउने भएकाले यो एक महिनालाई खासै तरलताको समस्या हुनेछैन,’ नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘तर, साउनपछि भने बैंकहरूमा तरलताको दबाब देखिने सम्भावना छ ।’

बैंकहरूले अहिले नै अन्तिम विकल्पका रूपमा राष्ट्र बैंकबाट लिने स्थायी तरलता सुविधा लिइरहेका छन् । चालू आवको गत १० महिनामा राष्ट्र बैंकले ४५ पटकसम्म यस्तो सुविधा दिएको र १८ अर्ब रकमबराबरको यस्तो सुविधा कायम रहेको उल्लेख गरेको छ । एक सातामा यस्तो रकम फिर्ता हुने भए पनि अप्ठ्यारो परेमा पटक–पटक लिन भने सक्छन् ।

‘तरलतामा दबाब त हो, तर समस्या नै भएको होइन,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक ढकालले भने, ‘स्थायी तरलता सुविधासहित बैंकहरूमा अहिले २५ अर्ब हाराहारी अधिक तरलता छ ।’ गत आवको यही अवधिमा करिब २ खर्बबराबर अधिक तरलता रहेकोमा हाल यो रकम घटेकाले तरलतामा दबाब भने परेको छ ।

नयाँ पत्रिका दैनिकबाट………….

प्रतिकृया दिनुहोस्