जलवायु परिवर्तनका कारण विश्वको वातावरण प्रतिकूल भएको छ । विश्वको बढ्दो तापमानका कारण सबैलाई चिन्तित तुल्याएको छ । त्यसका लागि शून्य कार्बन उत्सर्जन नीतिको आवश्यकता देखिन्छ । यही गतिमा मानवीय आविष्कार र प्रविधिको प्रयोग हुने हो भने सन् २०५० भित्र जलवायुमा व्यापक परिवर्तन देखिन्छ र मानव समुदायले विभिन्न महामारी तथा प्रकोपको सामना गर्नुपर्ने चिन्ता वातावरणविद्हरूको रहेको छ ।
विश्वव्यापी रूपमा शून्य कार्र्बन उत्सर्जनका लागि नयाँ प्रविधिको आविष्कार गर्नुपर्ने देखिन्छ, जसले वातावरणमा कार्बन उत्सर्जन कम गर्न सकोस् । के सौर्यशक्ति, वायुशक्तिले मात्र यसमा प्रभावकारी भूमिका खेल्न सक्छन् । कार्बनबाट मुक्ति पाउनका लागि मानव समुदाय आफैँ सचेत रहनुपर्छ ।
बढ्दो कार्बन उत्सर्जनका कारण विश्वमा ऊष्णता बढ्दै गएको छ । विकासका नाममा जङ्गल फँडानी भएको छ । पृथ्वीको तापमान बढेर हिमालको हिउँ पग्लिने क्रम रोकिएको छैन । सामुद्रिक देशका भूभाग जलसतहले पुरिँदै गएका छन् । जलजन्तुको संख्या पनि कम हुँदै गएको छ । मरुभूमीकरण बढ्दो छ ।
त्यसैले मानिसले स्वच्छ वातावरणका लागि पृथ्वीको समग्र वातावरणीय क्षेत्रको संरक्षणका लागि आजैबाट पहल गर्नुपर्छ । जलवायु परिवर्तनसँग लड्नका लागि हामी सबै मानव समुदाय जिम्मेवार छौँ । विद्युत् उत्पादनबाट विश्वमा करिब २७ प्रतिशत कार्बन उत्सर्जन हुन्छ । कोलम्बिया विश्वविद्यालयको एक रिपोर्टअनुसार कार्बन नियन्त्रणका लागि १ सय १५ मिलियन डलर खर्च बढाएर ३ सय मिलियन डलर गर्नुपर्छ । वातावरणमा कार्बन ग्याँस मिल्नुपहिले नै त्यसलाई एकत्रित गर्नुपर्ने प्रविधिको विकास र विस्तार गर्नु आवश्यक देखिन्छ ।
जलवायु परिवर्तनप्रति विकसित र सम्पन्न राष्ट्र पनि चिन्तित देखिन्छन् । तर आज विश्वको वातावरण विनाशप्रति धनी र सम्पन्न राष्ट्र नै जिम्मेवार मानिन्छन् । सन् १९९२ मा रियो द जेनेरियोमा भएको रियो पृथ्वी सम्मेलनमा क्यूवाका राष्ट्रपति फिडेल क्यास्ट्रोले वातावरण विनाश र जलवायु परिवर्तनमा धनी राष्ट्रहरू नै बढी जिम्मेवार छन् र उनीहरूले वातावरण विनाश गरेबापत साना वा गरिब राष्ट्रलाई क्षतिपूर्ति तिर्नुपर्छ भन्दा तालीको गडगडाहटले सभाहल नै गुन्जिएको थियो ।
यो त एउटा प्रतिनिधि उदाहरणमात्र हो, यस्ता थुप्रै उदाहरण छन् । सन् १९९२ मा नै विश्वका कैयन् महान् नेताहरू विश्वको वातावरण विनाशप्रति चिन्तित भएको उक्त सम्मेलनले पुष्टि गर्छ । क्यास्ट्रोको उक्त सम्बोधनको पूर्ण पाठ अध्ययन–मनन गर्दा बढ्दो वातावरण विनाशप्रति धनी राष्ट्रहरू नै अमानवीय बन्दै गइरहेका छन् ।
यतिबेला मेरा एक जना मित्रले मलेसियामा रोजगारीका क्रममा रहँदा व्यक्त गरेको प्रसङ्ग दोहो-याउँदा सान्दर्भिक हुन्छ । उनी काम गर्ने अफिसमा एक दिन जलवायु परिवर्तनका बारेमा एउटा डकुमेन्ट्री प्रस्तुत गरियो, जसमा हिमालको हिउँ कसरी पग्लिँदै घटेको छ । उनले सोचेछन्, हामी नेपालीहरूले गर्दा नै यो भएको होला ।
तर, त्यो गलत रहेछ । धनी राष्ट्रहरूका कलकारखाना र आणविक भट्टीबाट निस्किएको कार्बन र मरुभूभिबाट उडेर गएको धूलोमिश्रित वायुका कारण हिमालय क्षेत्रको तापमान बढेको र हिमालमा हिउँ कम भएको र त्यहाँका पहाडहरू हिमविहीन बन्दै काला पहाड बनेको तथ्य उनले थाहा पाएछन् । त्यसपछि हिमाल जोगाउन विश्व नै लाग्नुपर्ने चिन्ताले ती मित्रलाई भित्रभित्र पिरोलेछ ।
हामीले बढीभन्दा बढी कार्बन उत्पादन गर्ने सामग्री घरमा प्रयोग गरिरहेका छौँ । दैनिक उपभोग्य वस्तु, विद्युतीय सामग्री, सौन्दर्यका प्रसाधन, वनजङ्गल विनाश, अव्यवस्थित सहरीकरण, फोहोरमैलाको अवैज्ञानिक विसर्जन, बढ्दो जनसङ्ख्या, विभिन्न रासायनिक तथा जैविक हतियार र प्रविधिको प्रयोग एवम् परीक्षण आदिका कारण विश्वको वातावरण प्रतिकूल बन्दै गएको छ ।
त्यसैले मानिसको यात्रा अब वातावरण संरक्षणतर्फ केन्द्रित हुुनु आवश्यक छ । मानिसको नयाँ यात्रा पुनः वातावरण विनाश र कार्बनको बढ्दो निष्कासनमा केन्द्रित भयो भने भोलिको पुस्तालाई बाँच्न धेरै सङ्घर्ष गर्नुपर्छ । त्यसैले हामी सबैले आ–आफ्नो ठाउँबाट स्वच्छ वातावरण कायम राख्न जोडतोडले साथ दिनु आवश्यक देखिन्छ ।
कार्बन बढी उत्पादन गर्ने सवारी साधनमा रोक लगाई विद्युत् वा सौर्य ऊर्जाबाट सञ्चालन हुने सवारीमा जोड दिनुपर्छ । वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिनुपर्छ भने वृक्षारोपण कार्यलाई बढीभन्दा बढी प्रभावकारी बनाउनुपर्छ । वातावरण संरक्षणका लागि विभिन्न खालका रणनीति र योजनाहरू तर्जुमा गर्नुपर्छ । त्यसो भएमा मात्र विश्वको वातावरण अनुकूल बन्नेछ ।
कारोबार दैनिकबाट………….