RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१७ गते
७२२ पटक

काठमाडौँ — काठमाडौं उपत्यकामा दुई महिनापछि मंगलबारबाट सार्वजनिक सवारी सञ्चालनमा आए पनि यात्रुको चाप भने कम देखिएको छ । सार्वजनिक सवारी भने अघिल्लो दिनको तुलनामा बुधबार केही बढी गुडेका छन् । स्थानीय प्रशासनको आदेशमा जोर–बिजोर प्रणालीमार्फत २५ सिट क्षमताभन्दा माथिका सवारी मात्र सञ्चालनमा आएका हुन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डअनुसार सार्वजनिक सवारी चलाइएको छ, छैन, त्यसबारे कडाइका साथ अनुगमन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीएसपी सुनीलजंग शाहले बताए । ‘सार्वजनिक सवारीको नियमित अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘यात्रुको चाप भने कमै छ ।’ उनका अनुसार गाडीमा यात्रु कोचाकोच र उभ्याएर राख्न पाइने छैन । रत्नपार्कबाट काठमाडौं, ललितपुर र भक्तपुरका भित्री बस्तीका लागि छुट्ने सवारीमा भने यात्रुको चाप केही बढी देखिन्छ । चक्रपथमा चल्ने सवारीमा बिहान र साँझ मात्र चाप बढी हुने गरेको छ ।

यहीबीच महामारीको फाइदा उठाउँदै यात्रुसँग मनपरी भाडा असुल्ने २९ जनालाई पक्राउ गरिएको डीएसपी शाहले बताए । उनका अनुसार मंगलबार ८ र बुधबार २१ जनालाई पक्राउ गरिएको हो । उनीहरूले यात्रुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिएको पाइएको थियो । ‘जुन प्रयोजनमा सवारी प्रयोग गर्नुपर्ने हो, त्यसअनुसार प्रयोग गरेको पाइएन र बढी भाडा लिएको पाइएकाले पक्राउ गरी कारबाही अघि बढाइएको हो,’ उनले भने । स्कारपियो, बोलेरोलगायत सवारीमा यस्तो समस्या देखिएको उनको भनाइ छ ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने अघिल्लो दिनको तुलनामा यात्रु संख्या बढेको बताउँछन् । ‘यात्रु बिस्तारै बढ्दै छन्, गुड्ने गाडीको संख्या पनि बढेको छ,’ उनले भने, ‘केही चालक निषेधाज्ञाले गर्दा उपत्यकाबाहिर गएकाले आउने क्रम सुरु भएको छ ।’ उनका अनुसार यातायात व्यवसायी, यातायात मजदुर संगठनलगायत सरोकारवाला निकायसँग बिहीबार काठमाडौं प्रशासनमा छलफल छ । त्यसपछि थप केही निर्णयहरू आउन सक्ने उनले बताए । यातायात व्यवसायीले सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली हटाउनुपर्ने माग राख्दै आएका छन् ।

गत वैशाख १६ देखि उपत्यकामा सार्वजनिक सवारी ठप्प छन् । २५ सिटमाथिका सवारीलाई चल्न दिइए पनि ट्याम्पो र माइक्रोबसलाई अझै सञ्चालन गर्न दिइएको छैन । ‘अबको एक सातामा अवस्था कस्तो हुन्छ, त्यहीअनुसार थप निर्णय हुनेछ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने । यातायात व्यवसायीले उठाउँदै आएको भाडा समायोजनको विषय यातायात व्यवस्था विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हेर्ने उनले बताए । ‘हामीले अहिले जोर–बिजोर र यातायात सञ्चालनबारे मात्र हेर्ने हो,’ उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले भने असार १० मा प्रजिअ पराजुलीको कार्यकक्षमा भएको बैठकको निष्कर्ष र सरोकारवालाको सुझावविपरीत अव्यावहारिक रूपमा प्रशासनले निर्णय गरेको जनाएका छन् । लामो दूरीका सवारी चलाउनेबारे भने अझै अन्योल छ ।

निषेधाज्ञा खुकुलो भए पनि लामा दूरीका सवारी नचल्दा एम्बुलेन्स, स्कारपियो, बोलेरोलगायतमा तेब्बर बढी भाडा तिरेर यात्रु काठमाडौं आउन बाध्य छन् । देशैभरिका सार्वजनिक सवारीसाधन (लामो, मध्यम र छोटो दूरी) सञ्चालन अनुमति दिन व्यवसायीले अनुरोध गर्दै आएका छन् ।

कान्तिपुर दैनिकबाट………

प्रतिकृया दिनुहोस्