RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१७ गते
७४९ पटक

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठसँग पत्रकारहरूले ऊर्जा संकट व्यवस्थापन गरिदिन माग गरेका छन् । अवलोकन तथा अनुगमन अध्ययनका लागि जुम्ला पुगेका मन्त्रीलाई राष्ट्रिय प्रसारण लाइन नपुगेको जुम्लामा ऊर्जा संकटका कारण मिडिया हाउसदेखि पत्रपत्रिका प्रकाशन, अन्य सेवाग्राही पनि प्रभावित भएको भन्दै ऊर्जा संकट व्यवस्थापन गरिदिन माग गरेका हुन् ।

जुम्लाको ऊर्जा संकटका कारण यहाँका दुई दर्जनभन्दा बढी मिडिया हाउस प्रभावित भएर नागरिकले दैनिक सूचना प्राप्त गर्न सकेका छैनन् । यस्तै, मन्त्री श्रेष्ठसँग नेपाल पत्रकार महासंघको भवन विस्तार तथा सूचानमैत्री सामग्रीका लागि आवश्यक सहयोग, दुर्गम क्षेत्रमा मिडिया हाउसलाई  सोलार अनुदान र यहाँको दीर्घकालीन बत्ती र उज्यालोका लागि प्याकेज कार्यक्रम गर्न पत्रकार महासंघ शाखा जुम्लाले आग्रह गरेको छ ।

कर्णाली प्रदेशको जुम्ला र कालिकोट जिल्लाको सीमा क्षेत्र नाग्मस्थित तिला र हिमा नदीमा २० मेगावाट बिजुली उत्पादन गर्नका लागि सम्भाव्यता गरिने कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जामन्त्री दीनबन्धु श्रेष्ठले बताए । उनले भने, ‘कर्णालीका धेरै गाउँबस्ती बिजुली नहुँदा उज्यालोविहीन छन् । अब साना जलविद्युत् आयोजना सबै एकीकृत गरेर ऊर्जा क्षेत्रमा परिवर्तन ल्याउन जरुरी देखिएको छ,’ उनले भने । सुर्खेतको भेरीबबईमा ८ मेगावाट बिजुली आयोजनाको लागि सम्भाव्यता अध्ययन सुरु हुने बताउँदै उनले आयोजनाले कर्णालीको विद्युत् क्षेत्रमा निकै प्रभाव राख्ने बताए । मन्त्री श्रेष्ठले समग्र कर्णालीवासीको हितका लागि काम गर्ने भन्दै आग्रह–पूर्वाग्रह नगर्न आग्रह सबैलाई गरेका छन् ।

नयाँ पत्रिका दैनिकबाट……………..

प्रतिकृया दिनुहोस्