काठमाडौँ — निरन्तर वर्षाका कारण पहाडमा पहिरो बढेको छ भने तराई क्षेत्र बाढी र डुबानको चपेटामा परेको छ । पहिरोमा परेर धादिङ र गोरखामा पाँच जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना८ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका–६ का अन्दाजी १८ वर्षीय वीरबल चेपाङ र चितवनबाट काठमाडौं जाँदै गरेको ना७ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको गजुरीस्थित इलाका प्रहरीका नायब उपरीक्षक युवराज खड्काले बताए ।
पहिरोले पुरिँदा ना८ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका–६ का ४० वर्षीय हरिबहादुर चेपाङ, चितवन भण्डाराका ३६ वर्षीय सुदीप चेपाङ घाइते भएका छन् । घाइतेको चितवनमा उपचार भइरहेको छ । ना७ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभमकुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजकुमार घाइते भएका छन् । उनीहरूको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, धादिङमा पृथ्वी राजमार्गस्थित महेश खोलाले थाक्रे–२ सिम्ले र वडा–११ जोड्ने निर्माणाधीन पक्की पुल भाँचेको छ ।
उता, सप्तरीको विभिन्न पालिकामा गरी पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी–९, १०, ११ र १२ का करिब ३ सय डुबानमा परेको नगर प्रमुख शैलेशकुमार साहले बताए । निरन्तरको वर्षाका कारण सप्तकोसीमा जलस्तर बढेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार बिहानदेखि प्रतिसेकेन्ड २ लाख क्युसेकभन्दा बढीका दरले कोसी ब्यारेजबाट बहाव भइरहेको छ । ब्यारेजका २९ वटा ढोका खोलिएको छ ।
सप्तकोसीमा बहाव उच्च हुँदै गएपछि हनुमाननगर कंकालिनी–१३ गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको बस्ती हो । गोबरगाढाका वडाध्यक्ष विन्देश्वर यादवका अनुसार उक्त बस्तीमा महिला, बालबालिकासमेत गरी पाँच सय जना छन् । कोसीमा पानी बढेसँगै आफूहरू असुरक्षित भएको उनले बताए । त्यहाँका स्थानीयले भने अझै पनि घर छोड्न मानेका छैनन् । हरेक बर्खामा गोबरगाढामा सप्तकोसीको पानी पस्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गोबरगाढा अहिलेसम्म सुरक्षित रहेको र खतराको अवस्था आए स्थानीयलाई उद्धार गर्ने बताए ।
यसैबीच त्रियुगा, अमहा, टेंग्रा, गंगाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिका–१, २, ३ र ४ का करिब दुई सय घर डुबानमा परेको नगर प्रमुख उत्तम गौतमले बताए । त्रियुगा र टेंग्रा नदीले वडा–२ सिद्धिपुर र वडा–३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको गौतमले बताए । बलान बिहुल अध्यक्ष दयानन्द गोइतका अनुसार बलान नदीले वडा–२ र ४ मा कटान गरिरहेको छ । यता डाकनेश्वरी नगरपालिका–६ कटैयामा खड्ग खोलाले तटबन्ध कटान सुरु गरेको नगर प्रमुख शिवनारायण साहले जानकारी दिए । त्यस्तै, लगातारको वर्षाले रौतहटका विभिन्न स्थानमा तीन घर भत्किएका छन् । लालबकैया, वाग्मती र झाँझ नदीमा आएको बाढीले शनिबार सदरमुकाम गौरलगायतका क्षेत्र डुबानमा परेका छन् । दुर्गाभगवती गाउँपालिका–५ गढैयाका सञ्जीवकुमार गिरी र राजपुर नगरपालिका–३ बलुवाका शेख अबु महम्मद र यमुनामाई गाउँपालिका–२ भेडियाहीका आनन्दी ठाकुरको घर भत्किएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
धनुषास्थित कमला नदीको बाढीले तटीय क्षेत्रमा पनि डुबानको खतरा बढेर गएको छ । ५ दिनयता ३० बिघाभन्दा बढी खेत कटान गर्दै जलस्तर बाँधछेउमा आइपुगेको छ । एक सय मिटरभन्दा बढी उब्जाउ जग्गा कटान गरी बाँधनजिकै आएको बाढीले बस्ती बगाउला कि भन्ने त्रास स्थानीयमा परेको छ ।
उता, शुक्रबार राति र शनिबार बिहानको भारीले वीरगन्ज महानगरका अधिकांश वडा जलमग्न भएका छन् । यता, पहिरोले मकवानपुरका तीन पालिकामा १२ घर पुरिएका छन् । थाहा नगरपालिकामा ५, राक्सिराङ र कैलाश गाउँपालिका–४ र ३ गरी एक दर्जन घर भत्किएका हुन् ।
निर्माण सकिन लागेको पुल भत्कियो
बाढीले शनिबार दिउँसो उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाइस्थित त्रियुगा नदीमा बनाइँदै गरेको पक्की पुल भत्किएको छ । पुल भत्किएर एउटा स्पान नदीमा झरेको छ भने अर्को ढल्किएको छ । निर्माणको अन्तिम चरणमा पुगेको पुलको दुई स्पानमा क्षति हुँदा समस्या भएको छ । साता यतामात्र सर्वसाधारणलाई पैदल यात्रा अनुमति दिइएको पुल भत्किँदा एक स्थानीय घाइते भएका छन् । चौदण्डीगढी नगरपालिका–५ सिवाइका ४८ वर्षीय अख्तर मियाँ घाइते भएको इलाका प्रहरी बेल्टारले जनाएको छ । उनको अनुहार र खुट्टामा चोट लागेको छ । मियाँ पैदल यात्रा गरेर बेल्टारबाट घर जाँदै गर्दा पुलको स्लाब नदीमा झरेको थियो ।
कान्तिपुर दैनिकबाट…………