गृहमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सो रकम दिइने जानकारी गराएका हुन् ।
उनले भने, ‘यो वर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।’
उनले यो वर्ष मनसुनबाट सिर्जना भएको प्राकृतिक विपत्तिबाट ५ सय ६५ घरमा पूर्ण क्षति भएको, १ सय १२ घरमा सामान्य क्षति पुगेको जानकारी गराए ।
१ सय १२ घरमा आंशिक क्षति भएको छ । ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ ।’
यस्तै सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनका २ तनहुमा १ उदयपुर मोरङ र सिरहामा गरी १५ वटा पक्की पुलमा क्षति पुगेको छ । यस्तै विभिन्न जिल्लामा गरेर २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
सिन्धुपाल्चोकको कोदारी राजमार्ग, मनाङ चामे बेंसीशहर सडक, बाजराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौंडा सडकमा भएको अवरोध हटाउने काम जारी रहेको मन्त्री पौडेलको भनाइ छ ।
मनसुनबाट अति प्रभावित सिन्धुपाल्चोक, मनाङसहितका ८ जिल्लामा ८ सय ३४ थान टेन्ट, २ हजार ५६ थान त्रिपाल, १ सय ९४ थान स्लिपिङ ब्याग लगायतका राहत सामग्री दिइएको जानकारी गराए ।
मनसुनबाट भएको प्राकृतिक विपत्तिबाट घर गुमाएकाहरुलाई पुनर्निर्माणका लागि व्यवस्था गरिएको मन्त्री पौडेलको भनाइ छ ।अघिल्लो बर्ष मनसुनबाट क्षति पुगेका ३ हजार ९ सय ५० परिवारलाई घर बनाउन पहिलो किस्ता वापत ५० हजार रुपैयाँ दिएको १९ करोड ९७ लाख अनुदान दिइएको उल्लेख गरे ।
यस्तै बाढी पहिरोमा परेका २ सय ७८ जनलाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट उद्धार गरिएको मन्त्री पौडेलले जानकारी गराए ।