काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् ।
वामदेव गौतम । फाइल तस्बिर ।राष्ट्रियसभाको बैठक पछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोश्रो
तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन् । आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताए ।
उनले भने, ‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि । दुईतिर तिनतिर बाँडिएकाहरुलाई नै एकता गराउने हो । अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा वामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ ।’
उनले नेता/कार्यकर्ताहरुलाई धैर्यधारण गरेर एकताका लागि प्रत्यन्त गरिरहन भनेर आफूले भनेको पनि बताए । ‘म प्रयत्नशील छु । लागिरहेको छु । माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ ।
यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ, हो त्यतातिर लागिरहेको छु,’उनले भने ।
यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले सम्भव भएको तर त्यो सर्वोच्चको आदेशपछि सभव हुने बताए । उनले भने, ‘एकता सम्भव छ । अहिले सम्भव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ ।’
ekantipur.com