RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२२ गते
८९० पटक

जिल्ला कृषि विकास कार्यालय जुम्लाले चालु आर्थिक बर्षमा ३१ करोड रुपैयाँ बराबरको कृषिजन्य वस्तु जिल्लाबाहिर निर्यात भएको जनाएको छ । यहाँको उत्पादन काठमाडौँ,सुर्खेत,नेपालगंज लगायतका सहरमा निर्यात भएको हो।  जुम्लामा उत्पादित कृषि वस्तुको माग बढ्दो अवस्थामा रहेको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए। उनकाअनुसार स्याउ,ओखर,आलु,प्याज,जुम्ली मार्सीधान,मार्सी चामल,सिमी र जौँ जिल्ला बाहिर निर्यात भएको हो।

जुम्लाबाट १६ करोड ५ लाख रुपैयाँको स्याउ जिल्ला बाहिर निर्यात भएको छ। ६ हजार २ सय १० मेट्रिकटन स्याउ उत्पादन भएकोमा ३ हजार ३ सय मेट्रिकटन जिल्ला बाहिर निर्यात भएको थियो। प्रतिकेजी ५० रुपैयाँको दरमा किसानले स्याउ बेचेका थिए।  स्याउ जुम्लाको राजधानी हो। यहाँ स्याउको संभावना निकै राम्रो छ। स्याउ नै आर्थिक समृद्धिको आधार हो कृषि प्रमुख देवकोटाले भने,‘स्याउ खेतीमा  किसान आकर्षित भएका छन। स्याउलाई जीवन ठानेर संरक्षण गरिरहेका छन । यो समृद्ध जुम्ला बनाउने एक आधार नै हो। ’

ओखर ५९० मेट्रिकटन उत्पादन भएकोमा ३२१ मेट्रिकटन जिल्ला बाहिर निर्यात भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांङकमा उल्लेख छ। ओखरबाट एक करोड रुपैयाँ भित्रिएको हो। प्रतिकेजी ओखर ४ हजार रुपैयाँ पर्छ। ओखर खेतीले यहाँका किसानको जीविकोपार्जनमा सहयोग पुगेको छ। कृषि प्रमुख देवकोटाले भने,‘ओखर खेती पनि जुम्लामा राम्रो सम्भावना बोकेको क्षेत्र हो।’

आलु २७ हजार मेट्रिकटन उत्पादन भएको थियो। ११ हजार मेट्रिकटन जिल्लाबाहिर निर्यात भयो ।४ करोड ९५ लाख रुपैयाँ भित्रियो। प्रतिकेजी आलु ४५ रुपैयाँमा बिक्री भएको थियो। प्याजबाट यो आर्थिक बर्षमा जुम्लामा एक करोड ५० हजार रुपैयाँ आम्दानी भएको छ। ३५५ मेट्रिकटन प्याज उत्पादन भएकोमा २०० मेट्रिकटन प्याज जिल्ला बाहिर निर्यात भएको थियो। संकटको समयमा यहाँको प्याजले राम्रै बजार पाएको किसानहरु बताउँछन। प्याज खरिद गर्न व्यापारी जुम्लाको गाउँगाउँमा पुगेका थिए।

जुम्ली मार्सीधान ३ हजार ३ सय मेट्रिकटन उत्पादन भएकोमा २ सय मेट्रिकटन निर्यात भएको थियो। धानबाट २ करोड रुपैयाँ जुम्ला भित्रिएको कृषि कार्यालय बताएको छ।  प्रतिकेजी एक सय रुपैयाँमा मार्सीधान बिक्रि भएको थियो। मार्सीधान जुम्लाको पहिचान हो। जुम्ली चामल ९० मेट्रिकटन निर्यात भएकोमा १ करोड ६२ लाख रुपैयाँ भित्रियो। प्रतिकेजी जुम्ली चामल १ सय ८० रुपैयाँ पर्छ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार सिमी ४ हजार मेट्रिकटन उत्पादन भएको मध्ये १ हजार २ सय मेट्रिकटन जिल्ला बाहिर निर्यात भएको थियो। सिमीबाट एक करोड ८ लाख रुपैयाँ भित्रिएको छ। प्रतिकेजी ९० रुपैयाँमा सिमी बिक्री भएको थियो। जौँ बाट ६२ लाख रुपैयाँ आम्दानी भएको छ। प्रतिकेजी ४० रुपैयाँमा १ सय ५५ मेट्रिकटन जौ जिल्ला बाहिर गएको हो। कुल ५ हजार ४ सय मेट्रिकटन जौँ उत्पादन भएको थियो।

कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री कुर्मराज शाहीले स्थानीय उत्पादन बेचेर कर्णाली पाल्न सक्नै हैसियत जुम्लाले राख्न सक्ने बताए। उनले भने,‘त्यसका लागि कृषिमा आधुनिकीकरण र किसानमा व्यवसायीकरण हुनुपर्छ। जब किसान व्यवसायिक रुपमा अघि बढ्छ। त्यहाँ समृद्धि आउने गर्छ।’ उनले आगामी बर्षमा जुम्लाले दोब्बर ६२ करोड रुपैयाँका उत्पादन निर्यात गर्नुपर्ने बताए। उनले भने,‘जुम्ला कृषि क्षेत्रको संभावना बोकेको क्षेत्र हो। यही संभावनामा रहेर किसानले खेती प्रर्णालीलाई व्यवसायीकरण गर्दै लैजानुपर्छ। ’

nagariknews.nagariknetwork.com

प्रतिकृया दिनुहोस्