RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२३ गते
६७५ पटक

सार २३ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । कोरोनाको दोस्रो लहरको कारण बैशाख २० गतेदेखि उडानहरु बन्द थिए ।

६९ दिनपछि आन्तरिक उडान बिहीबारदेखि ५० प्रतिशत अकुपेन्सीमा संचालनमा आएका थिए । मन्त्रिपरिषद्ले नेपाल र भारतबाहेकको अन्तर्राष्ट्रिय उडान पनि बैशाख २३ देखि बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्री श्रेष्ठका अनुसार अब नेपाललाई रोक नलगाइएका मुलुकमा उडान सुचारु हुनेछन् । अब निषेधाज्ञा अगाडिकै बेलामा चलेजसरी सामान्यरुपमा उडानहरु नियमित हुनेछन् ।

अहिले अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगल, युएई, साउदी अरब लगायतका मुलुकले नेपाललाई यात्रा प्रतिबन्ध लगाएका छन् । सरकारले उडान खुला गरेपनि यात्रा प्रतिबन्ध लगाइएका देशमा भने तत्काल उडान हुने सम्भावना छैन ।

 

प्रतिकृया दिनुहोस्