RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२५ गते
८६४ पटक

विश्व बैंकले कोरोनाबिरुद्धको खोप खरिदका लागि नेपाललाई आर्थिक सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । आज भएको भर्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले कोरोना महामारीमा नेपालले अनुदानमा उपलब्ध गराइने खोपको प्रतिक्षा गर्न नहुने सुझाव पनि दिनुभयो । निर्देशक जर्भोसले कोभ्याक्स संयन्त्रले सेकेन्ड विन्डो कार्यक्रममार्फत वितरण गर्ने खोप खरिद गर्नुपर्ने समेत बताउनु भयो ।

विश्व बैंकले यसअघि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनबाट हुने खोप खरिदमा आर्थिक सहायताको प्रतिबद्धता जनाएको थियो । निर्देशक फरिसले पैसाकै कारण खोप ल्याउन ढिलाइ हुन नहुने बताउनु भयो ।

‘खोप खरिदका लागि विश्व बैंकले नेपाललाई १०० मिलियन डलर उपलब्ध गराएको छ,’ निर्देशक फरिसले भन्नुभयो, ‘थप १६० मिलियन डलर एसियाली विकास बैंकमार्फत उपलब्ध गराइनेछ ।

’ पत्रकार सम्मेलनमा उहाँले नेपाललाई खोप खरिदका लागि आवश्यक पर्न सक्ने २६० मिलियन डलर समेत सघाउन बिश्व बैंक तयार रहेको जानकारी पनि दिनुभएको छ ।

नेपालको कूल जनसंख्याको ७२ प्रतिशत अर्थात ३० मिलियन जनसंख्यालाई २ डोज खोप लगाउन ४४ मिलियन डोज खोप जरुरी हुन्छ । कोभ्याक्सले प्रतिबद्धता जनाएको १३ मिलियन डोजले नेपालको २० प्रतिशत जनसंख्यालाई लगाउन पुग्छ ।

‘पैसा मुख्य कुरा हैन, नेपालले आफ्नो पूर्ण जनसंख्यालाई कसरी खोप लगाउँछ भन्ने महत्वपूर्ण कुरा हो,’ फरिसले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्