RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२९ गते
३६० पटक

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो ।

बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिनुभयो । यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण आउनुपर्ने उहाँको भनाइ छ ।

समन्वय एकाइको तयारी हेर्दा केही ढिला हुनसक्ने आकलन गरिएको छ तर अब बोर्डले समन्वय एकाइलाई विद्यार्थीको विवरण पठाउन म्याद थप भने नगर्ने भएको छ । म्याद थप हुँदा विवरण तयार भएका जिल्लाले पनि विवरण नपठाउने भएकाले केही दिन ढिला भए पनि म्याद थप नहुने जनाइएको छ । सबै विवरण आएपछि बार्डले विद्यार्थीको विवरण अद्यावधिक गरेर अन्तिम नतिजा प्रकाशित गर्नेछ ।

विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कनको नतिजा जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउने समयसीमा भने सकिएको छ । बोर्डले असार २० भित्र एकाइमा आफ्नो विवरण बुझाउने समयसीमा दिएको थियो । हाल समन्वय एकाइमा विद्यालयबाट प्राप्त विद्यार्थीको विवरण रुजु गर्ने काम चलिरहेको छ ।

साउन मसान्तसम्म परीक्षाफल प्रकाशन गर्नका लागि समय लाग्ने अवस्थामा भदौबाट मात्र कक्षा सञ्चालन हुने देखिएको हो । यसअघि बोर्डले भदौ १५ बाट कक्षा ११ को पठनपाठन सुरु गर्ने गरेको थियो ।

एसईईको नतिजा सार्वजनिक नभएको अवस्थामा कक्षा ११ र १२ पढाउने माध्यमिक विद्यालयले कक्षा ११ मा प्री–रजिस्ट्रेसन गरी विद्यार्थीलाई आबद्ध गर्न थालेका छन् । विद्यार्थीको भर्ना, अध्ययन गर्ने विषयलगायतको जानकारी लिनका लागि विद्यार्थीलाई प्री–रजिस्ट्रेसन गर्ने गरिएको पाइएको हो ।

प्रतिकृया दिनुहोस्