
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ। कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनिअन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ।
मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव बढेको छ। देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफलबाटै मन्त्रीको टुंगो लगाउने यसअघि नै बताएका थिए।
तर सबैलाई समेटेर मन्त्री बनाउनु पर्ने भएकाले यसमा सबैलाई चित्त बुझाएर निष्कर्षमा पुग्न देउवालाई सहज छैन। यस्तै पदाधिकारी बैठकमा पार्टीको आशन्न १४औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल गर्ने बताइएको छ।