RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/२ गते
४३९ पटक

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणलगायत काम सक्न प्राधिकरणको अवधिभर अहिले उपलब्ध जनशक्ति यथावत् राख्न सिफारिस गरेको छ ।

प्राधिकरणको कार्यकारी समिति बैठकले बिहीबार कोभिड महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणलगायत काममा अवरोध भएकाले हाल कार्यरत कर्मचारीको दरबन्दीलाई निरन्तरता दिने निर्णय गरेको हो ।

गत असार १० मा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ पुस १० सम्म यथावत् रहने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार प्राधिकरणले यथासम्भव न्यून जनशक्ति परिचालन गरी आर्थिक वर्ष २०७८/७९ को मंसिरभित्र बाँकी काम सक्ने र उक्त अवधिमा हस्तान्तरणलाई पनि एकसाथ अघि बढाउने कार्ययोजना बनाएको छ ।

बिहीबारसम्म निजी आवास पुनर्निर्माणमा ८ लाख २९ हजार ६ सय १२ लाभग्राहीमध्ये ८ लाख २८ हजार ७ सय ५२ ले पहिलो किस्ता लिएका छन् । अनुदान सम्झौता गरेकामध्ये ८ सय ६० ले मात्र पहिलो किस्ता लिन बाँकी छ । दोस्रो किस्ता ७ लाख ४१ हजार ९ सय ९५ र ६ लाख ८९ हजार ५ सय ४७ घरधुरीले तेस्रो किस्ता लिएका छन् ।

अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये आवास पुनर्निर्माण सकेका र पुनर्निर्माण गरिरहेका लाभग्राही ७ लाख ५७ हजार ५ सय ८१ छन् । प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा निजी आवासतर्फ विनियोजित कुल बजेट २३ अर्ब ८५ करोडमध्ये २१ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ । यसलाई ९०.४१ प्रतिशत हो । समग्र पुनर्निर्माण कामका लागि विनियोजित बजेट ६९ अर्ब ३३ करोडमध्ये ५३ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्