RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/६ गते
८०० पटक

नेपाल आयल निगमले अनलाइन प्रणालीबाट सेवा सुरु गरेको छ । निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गरेर आफ्ना सेवा अनलाइनबाट दिन सुरु गरेको हो । करिब तीन महिनाको परीक्षणपछि सोमबारदेखि पूर्ण रूपमा अनलाइनबाट काम सुरु भएको छ । आफ्ना सम्पूर्ण सेवालाई कागजविहीन बनाएको छ ।

सेवा प्रवाह, अनुगमन तथा नियमन र निगमलाई काजगविहीन बनाएर प्रभावकारी काम गर्न ईआरपी लागू गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । पेट्रोलीयम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानीलाई न्यूनीकरण गर्न पनि निगमले ईआरपी प्रणालीबाट काम गरेको हो । यो सफ्टवेयरमार्फत स्वचालित प्रणाली हो । निगमका सम्पूर्ण कार्यलाई विद्युतीय (डिजिटलाइज) प्रणालीमा लगिएको छ ।

ईआरपी प्रणालीअन्तर्गत निगमले पेट्रोलीयम पदार्थ ढुवानी गर्ने ट्याङ्करहरूलाई इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) बाट जीपीएस प्रणालीमा लैजाँदैछ । यसबाट पेट्रोलीयम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुनेछ । ट्याङ्करको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ । भारतबाट पेट्रोलीयम पदार्थ भरेर नेपाल आउने ट्याङ्करलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिने छ । ढुवानीमा रहेका ट्याङ्करलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुने प्रवक्ता उपाध्यायले बताउनु भयो ।
तथ्याङ्क राख्ने, डेलिभरी, अडर र भुक्तानीको काम अनलाइनबाट गरिएको छ ।

ईआपी प्रणालीमा जान निगमले २५ करोड रुपियाँ खर्चेको छ । निगमका अनुसार ईआरपी प्रणालीले दैनिक काम व्यवस्थित हुनेछ । वित्तीय सुशासन प्रभावकारी हुनुका साथै छिटोछरितो र प्रभावकारी सेवा प्रवाह हुनेछ । प्रवक्ता उपाध्यायले निगमका सबै गतिविधिलाई डिजिटलाइज गरी वैज्ञानिक तरिकारले जाँच र अनुगमन हुने बताउनुभयो । प्रविधिमैत्री र पारदर्शी भएर प्रभावकारी सेवा दिन ईआरपी उपयुक्त रहेको पनि उहाँले बताउनुभयो । ईआरपी प्रणाली विश्वमा अधिकांश इन्धन उत्पादक तथा वितरक कम्पनीहरूले प्रयोग गर्दै आएको विश्वसनीय प्रविधि भएको निगमले जनाएको छ । यसले नेपालको पेट्रोलियम पदार्थको बजार व्यवस्थित गर्ने दाबी गरिएको छ । इन्डियन आयल कर्पोरसनले पनि ईआरपी प्रणालीबाट काम गर्छ ।

ईआरपी जडानले निगमको खर्च घट्नुका साथै आम्दानी बढ्ने दाबी प्रवक्ता उपाध्यायको भनाई छ । उपाध्यायका अनुसार अनावश्यक खर्च तथा जनशक्तिको व्यवस्थापन हुन्छ । अनलाइनमा काम भएपछि जनशक्तिको आवश्यकता कम हुनेछ । त्यसका लागि निगमले सङ्गठन संरचना र दरबन्दीलाई समयानुकूल पुनरवलोकन गर्ने भएको छ । साथै निगमलाई चुस्त र समयानुकूल बनाउन वस्तुपरक स्वैच्छिक अवकाशको योजना लागू गरिने भएको छ । ईआरपी प्रणालीबाटै निगमका देशभरका प्रादेशिक कार्यालय, डिपो र विभागको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आएका छन् ।

www. janatatimes.com

प्रतिकृया दिनुहोस्