RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/७ गते
१३७६ पटक

जुम्लाको तिला गाउँपालिका ३ स्थित त्रिवेणीमा तिला नदिमाथि पक्की पुल निर्माण भएको छ। जुम्लादेखि जाजरकोट जोड्नको लागि ६ वर्ष पहिलेदेखि पक्की पुल निर्माण कार्य सुरु भएको थियो। पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा त्यो सडक हुदै तातोपानी ७ र ८ मा जाने सर्वसाधारणलाई सास्ती हुने गरेको थियो।

अहिले पुल निर्माणको काम सकिएपछि कर्णाली राजमार्गदेखि भेरीखोला हुदैँ जाजरकोट जान निकै सहज भएको स्थानीय बताउँछन्। तिला नदिमा ५२.१५ मिटरको पक्की पुल निर्माण भएको हो। पुर्वाधार विकास कार्यालय जुम्लाका अनुसार पक्की पुल बनेपछि सहजै रुपमा सवारीसाधन आवतजावत गर्न सकिने अवस्था रहेको जनाएको छ।

कार्यालय प्रमुख रुपकबहादुर रावले भने,‘जनताले आशा मारीसकेको पुलको निर्माण सम्पन्न हुनुले निकै खुसी तुल्याएको छ। यो पुल संघीय संरचना पछि पुर्नजीवित पुल हो। ’कुल चार करोड १२ लाख रुपैयाँको लागतमा पुल बनेको हो। २०७३ साल असार ५ गते निर्माण कार्यका लागि सम्झौता सुरु भएको थियो। यो बीचमा ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अघि बढ्न सकेन। केन्द्रीकृत संरचना हुदाँको प्राविधिक कार्यालयले पुल निर्माणको काम सुरु गरेको थियो।

पुल  २०७५ साल जेठ ३१ गते बनिसक्नु पर्ने थियो। प्रमुख रावलले भने,‘अलपत्र पुल पुर्वाधार विकास कार्यालयको सुरुवात संगै निर्माण कार्य प्रारम्भ भयो। अहिले निर्माण कार्य सकिएर आवतजावतको काम भइरहेको छ।’

कर्णाली प्रदेशकै पहिलो उच्च जोखिम मोलेर पुल निर्माण भएको उनी बताउँछन्।  यसको निर्माण फरक र जटिल प्रकृतिको छ।  लामो समयदेखि निर्माण सुरु भएपनि अलपत्र परेको थियो। उनले भने,‘ पुल निर्माणपछि जुम्लाको साविक ताम्ति गाविस हाल तातोपानी गाउँपालिकाको ७ र ८ वडामा यात्रा गर्न सजिलो हुनुका साथै जाजरकोट जाने यात्रुहरुलाई निकै सहज बनेको छ । ’

जाजरकोटबाट जुम्ला भित्रिने जुम्ला जाजरकोट सिमाना सम्म कच्ची सडक जोड्न पूर्वाधार विकास कार्यालयले दुई करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ। अहिले  जुम्लाको ईमिल्चा हुँदै जाजरकोट सम्म जोड्ने सडक खन्ने कार्य भइरहेको छ।

लामो समयदेखि अलपत्र पक्की पुल बनेपछि स्थानीय खुसी छन्। तातोपानी ७ का जनक कुँवर अबको यात्रा निकै ढुक्क र सहज हुने भएको बताए। पहिले तिला नदिन तराएर सवारीसाधन चलिरहेका थिए। वर्षायाममा पानीका बहाव बढ्दा यातायात सेवा ठप्प हुने गरेको थियो। यो समयमा बिग्रेका सवारीसाधन नदि पारी नै थन्काउनु परिरहेको हुन्थ्यो।

पुल बनेपछि स्थानीयको खुसीको सिमा छैन। उनले भने,‘अब ढुक्क संग मोटर चढेर गाउँमा पुग्ने अवस्था आइसक्यो। गाउँगाउँमा दैनिक उपभोग्य सामाग्री दुर्गम क्षेत्रमा ढुवानी गर्न निकै सहज हुने भएको छ। गाउँमा उत्पादिन स्थानीयबाली र जडिबुटी पनि निर्यात गर्न सहज भएको छ। पुल नहुँदा सडकले समृद्धि ल्याउन सकेको थिएन। पुल बन्यो आर्थिक समृद्धि हुने आशा पलाएको छ।’

www.nagariknews.nagariknetwork.com

प्रतिकृया दिनुहोस्