
टोकियो — ओलम्पिकमा नयाँ–नयाँ कीर्तिमान राख्ने अपेक्षासहित संसारभरका ११ हजार खेलाडी टोकियो पुगेका छन् तर कोभिड संक्रमणले सहरमा दिनदिनै कीर्तिमान बनाएकाले खेलाडीसँगै आयोजक पनि चिन्तित छन् ।
जापानको टोकियोस्थित ओलम्पिक म्युजियमबाहिर ओलम्पिक टर्चवाहकसँग तस्बिर खिचाइँदै । तस्बिर : एएफपी३२ औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन शुक्रबार हुँदै छ । तर, टोकियोमा उस्तो उत्साह छैन, खासमा स्थानीय बासिन्दा त विरोधमा नै छन् । खेलाडीको सुरक्षा र ओलम्पिकको सफलतालाई लिएर ओलम्पिक अधिकारी र जापान सरकार पनि ‘नर्भस’ छन् ।
किनकि टोकियोमा बिहीबार मात्रै १,९७९ जना संक्रमित भएका छन् । टोकियोमा संक्रमितको यो संख्या ६ महिनायताकै सबभन्दा बढी हो भने संक्रमितको संख्या लगातार वृद्धि भएको ३३ औं दिन । त्यसैले अघिल्लो दिन मात्रै सरकारले ओलम्पिक स्थगित गर्ने सम्भावना अझै समाप्त नभइसकेको बताएको थियो । नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सहरमा निस्कन अहिले घण्टौं लाग्छ ।
विमानस्थलमै हुने पीसीआर परीक्षण नेगेटिभ आएपछि मात्रै होटल वा ओलम्पिक भिलेजमा जाने अनुमति हुन्छ । यात्रामा देखिन्छ सफा र चिटिक्क टोकियो । तर, खेलप्रति उत्सुकताभन्दा चिन्ता बढी छ । टोकियोस्थित राष्ट्रिय रंगशालामा ‘युनाइटेड बाई इमोसन’ थिममा शुक्रबार साँझ ओलम्पिक उद्घाटन हुँदै छ ।
टोकियोस्थित नेसनल स्टेडियम । तस्बिर : रोयटर्स
विश्व खेलकुदको महाकुम्भमा सामान्यतया ठूलै तडकभडक हुने गर्थ्यो । प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिकले आयोजक सहरलाई नै रंगीन बनाउने गर्छ । यसपालि भने कोभिड महामारीले नराम्ररी असर गरेको छ । महामारीकै कारण एक वर्ष ढिला सारिएको ओलम्पिकका केही झन्डा, मस्कट र लोगो मात्र विमानस्थलमा देखिन्छन् । तर, सडकमा ओलम्पिक लोगो भएका सीमित ट्याक्सी, कार मात्रै कुदिरहेका भेटिन्छन् । केही सीमित स्थानमा मात्रै ओलम्पिकको बोर्ड र ब्यानर देख्न सकिन्छ ।
टोकियोमा कोभिड–१९ संक्रमण बढ्दै जाँदा केही दिन अघिसम्म पनि ओलम्पिक आयोजनामै शंका थियो । सरकारले आपत्काल घोषणा गरेरै ओलम्पिक आयोजना गर्न लागेको हो । ‘ओलम्पिक आयोजना गर्नु ठीकै हो,’ स्थानीय यातायात व्यवसायी केइटा उइनोले भने, ‘धेरै मानिस विदेशबाट आउँछन् र उनीहरूले भाइरस ल्याउँछन्, यहाँ महामारीले उग्र रूप लिन्छ भनेर धेरैले ओलम्पिक आयोजनाको विरोध गरिरहेका
छन् ।’ केहीले भने खेल हुने स्थलमै गएर ओलम्पिक हेर्न चाहेका छन् । दर्शकलाई प्रवेश नदिने भनेपछि त्यो पनि सम्भव छैन, टीभीमै हेर्नुपर्ने भएको छ । ‘तर, ओलम्पिक आयोजनाका लागि यो समय सही होइन । यहाँका धेरै मानिस ओलम्पिक आयोजनाको पक्षमा छैनन्,’ केइटा भन्छन् ।
www.ekantipur.com