
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाबाट शनिबार जारी बुलेटिनमा उल्लेख छ ।
शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाकाअनुसार आइतबार प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
सोमबार प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
शनिबार बागमती, गण्डकी, मस्याङ्दी नदीको बहाव बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।