
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ ।
कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।
अब कांग्रेसको वडा तहको अधिवेशन सार्दा २८ वा २९ साउनमा गर्नेगरी सार्ने तयारी गरिएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच्च स्रोतले वडा तहको अधिवेशन साउन अन्तिममा सार्ने विषयमा छलफल भइरहेको जानकारी दिए । तर मिति भने तय भइसकेको छैन ।
यसैगरी, पार्टीको १४औं केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म तय भएकोमा सो मितिसमेत भदौ अन्तिमका लागि सार्ने तयारी भइरहेको छ । १६ भदौबाट तोकिएको केन्द्रीय महाधिवेशन २८ भदौबाट सुरु गर्ने गरी छलफल भइरहेको हो ।
‘वडा अधिवेशन २८ वा २९ साउनमा सुरु गर्ने, त्यो अवस्थामा २७ भदौबाट केन्द्रीय महाधिवेशन सुरु गर्ने विषयमा छलफल भइरहेको छ तर भदौभित्रै महाधिवेशन हुन्छ ।’ कांग्रेस सभापति देउवानिकट उच्च स्रोतले राजधानीसँग भन्यो ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले भने वडा तह र गाउँ नगरको अधिवेशन सर्ने अवस्था रहेको जानकारी दिए ।
‘वडा र गाउँ नगरका अधिवेशन केही दिन सार्ने विषयमा छलफल भइरहेको छ तर अन्तिम मिति चाहिँ सार्न नहुनेमा सभापतिको जोड छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।
हाल कांग्रेसभित्र क्रियाशील सदस्यताको विवाद नटुंगिदा महाधिवेशनको पूर्व निर्धारित मिति फेरबदल हुन लागेको हो ।
कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले २० असारभित्रै सदस्यताको काम सकेर ३० असारभित्र सभापतिलाई सदस्यताको सूची बनाइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पनि सभापतिलाई समितिले सदस्यताको सूची बुझाउन पाएको छैन । सभापतिले सूची नबुझेसम्म त्यसले अन्तिम रूप पाउँदैन । यस्तै, सभापतिले बुझेर हस्ताक्षर गरेपछि मात्रै सदस्यताको विवरण जिल्ला हुँदै वडातहसम्म पु¥याउनुपर्ने हुन्छ ।
हाल कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको बताउँदै आएको छ । सप्तरी र बारामा भने बढी विवाद देखिएको छ । समितिले ती दुई जिल्लाको विवाद थाँती राखेर क्रियाशील सदस्यताको सूची सभापतिलाई बुझाउने तयारी गरिरहेको छ ।
कांग्रेसमा महाधिवेशनका लागि विदेशस्थित जनसम्पर्क समितिबाटसमेत गरी करिब ९ लाख क्रियाशील सदस्य पुग्ने सदस्यता छानबिन समितिले अनुमान गरेको छ ।
कांग्रेसले निर्धारण गरेको महाधिवेशन कार्यतालिकाअनुसार १२ साउनबाट वडा अधिवेशन, यसैगरी, गाउँ र नगरको अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनका लागि तय छ ।
यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौका लागि तय छ । यसैगरी पूर्वनिर्धारित कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने कांग्रेसको तयारी छ । अब यी सबै तहका कार्यतालिका केही दिन पर सर्नेछन् ।
हालसम्म कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १ सय ४३ निर्वाचन क्षेत्रको सदस्यताको छानबिन सकेको जनाएको छ । समितिले २२ निर्वाचन क्षेत्रको विवाद भने टुंग्याउन सकेको छैन ।
हालसम्म समितिले छानबिन गरेको १ सय ४३ निर्वाचन क्षेत्रको सदस्यताको छानबिन गर्दा ७० वटा वडाको सदस्यता स्थगित गरिएको समितिका सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए ।
नयाँ र पुराना गरी विदेशबाट बाहेक ८ लाख ५० हजार २ सय ३२ जनाले क्रियाशील सदस्यतासम्बन्धी फाराम भरेका छन् । त्यसमध्ये ४ लाख ४४ हजार १ सय ४१ नयाँ छन् । बाँकी पुराना सदस्यतामा भने विवाद छैन ।
सदस्यतामा सबैभन्दा बढी प्रदेश २ मा विवाद देखिएको छ । प्रदेश २ को बारा र सप्तरीका सबै निर्वाचन क्षेत्र, सर्लाही क्षेत्र नम्बर २, धनुषा क्षेत्र नम्बर ३, सिरहाको एउटा क्षेत्र र रौतहट क्षेत्र नम्बर १ को क्रियाशील सदस्यतामा विवाद देखिएको छ । सदस्यतामा विवाद देखिएपछि पार्टी केन्द्रीय कार्यालयमा दिनहुँँजसो ती जिल्लाका प्रतिनिधिहरू धर्नासमेत बस्दै आइरहेका छन् ।
प्रदेश १ मा सोलुखुम्बु र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा विवाद कायमै छ । लुम्बिनीमा कपिलवस्तु–३ र प्यूठानमा विवाद कायमै छ भने सुदूरपश्चिमको डडेल्धुरा र कैलालीमा विवाद देखिएको छ ।
विवादित स्थानका सदस्यता नटुंगिए १३औं महाधिवेशनकै सदस्यतालाई आधार मानेर अधिवेशन गर्न सिफारिस गर्ने छानबिन समितिको तयारी छ ।
राजधानी दैनिकबाट