RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१० गते
५७६ पटक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई पूर्वमाओवादी नेतासमेत रहनुभएका विश्लेषक मुमाराम खनालले तनाव व्यवस्थापनको तरिका सिकाइदिनुभएको छ । प्रचण्डले पार्टीबाट सरकारमा पठाउने मन्त्री छान्न नसक्दा आफू ठूलो तनावमा परेको बताएपछि खनालले तनाव ब्यवस्थापनको सूत्र बताउनु भएको हो ।

खनालले प्रचण्डलाई सुझाउँदै ट्विटरमा लेख्नुभएको छ, ‘प्रचण्डजी तनावमा हुनुहुन्छ रे । आफ्ना ४९ जना सांसदहरु सबै मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्दै हिड्छन् रे । पार्टीको भागमा जम्मा ७ जना परेका छन रे । १७ महिना जसोतसो व्यवस्थापन गर्नुस कमरेड, अर्को चुनावसम्म ठिक्क मन्त्री बन्न चाहिने ७ जना मात्र सांसद आउँछन कुरो मिल्छ ।’

प्रचण्डले शनिवार आफ्ना ४९ जना सांसद सबै मन्त्रीको दाबेदार भइदिएपछि आफूलाई ठूलो तनाव भएको सार्वजनिक कार्यक्रममै बताउनुभएको थियो । प्रचण्डले आफ्नो दुखेसो साटिरहँदा मन्त्री हुनुभएका पम्फा भूसाल मञ्चमै हुनुहुन्थ्यो भने मन्त्रीका तीब्र आकांक्षी देवेन्द्र पौडेललगायत पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । मन्त्रीको आकांक्षी नभएका सांसदहरुले पनि प्रचण्डको अभिव्यक्तिप्रति आक्रोस व्यक्त गरेका छन । आफूहरुलाई एकै घानमा राखेर अपमान गरेको उनीहरुको भनाइ छ ।

प्रचण्डको यो भनाईलाई फेसबुक र ट्विटरमा कतिपयले ४९ जनाभित्रै रहनुभएकी पूर्वमन्त्री एवं दाहालकी बुहारी बिना मगरलाई मन्त्री बनाउन नपाएको झोंक फेरेको भन्दै ठट्टा र व्यंग्य गरेका छन । प्रचण्ड अहिले पनि बुहारी बिनालाई मन्त्री बनाउने योजनामा हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्