RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१३ गते
५१९ पटक

काठमाडौं : सत्ता गठबन्धनको बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका नेताबीच भएको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए।

‘आजको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ’, उनले भने, ‘गठबन्धनका शीर्ष नेताहरुबीच छलफल पश्चात ठोस निर्णय हुन्छ।’ उनले राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर सहमतिमा अघि बढ्ने छलफल भएको जनाए।

बैठकले शीर्ष नेताहरूले मन्त्रीको नाम दिएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताइएको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले दुई वटा प्रदेश प्रमुख परिवर्तन गरेको थियो। आजको गठबन्धनको बैठकमा अन्य प्रदेशका प्रदेश प्रमुख पनि हटाउने सहमति भएको छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सहभागी छ। बुधबारको बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, एमालेको माधव नेपाल पक्षबाट डा. विजय पौडेल बैठकमा सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस्