RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१३ गते
५३९ पटक

आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेशको बजेट ६५.५२ प्रतिशत खर्च भएको छ। आर्थिक वर्ष ०७६/७७ को भन्दा ०७७/७८ मा ३३.३३ प्रतिशत बढी बजेट खर्च भएको कर्णाली प्रदेश सरकारले जनाएको छ।

कर्णाली प्रदेशको गत आर्थिक वर्षको कुल बजेट ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँ थियो। जसमध्ये २२ अर्ब १० करोड ८६ लाख ९६ हजार रुपैयाँ खर्च भएको प्रदेश सरकारले जनाएको छ।

आर्थिक वर्ष ०७७/७८ मा कर्णाली प्रदेशको आन्तरिक राजस्व लक्ष्य भन्दा बढी संकलन भएको छ। ३२ करोड राजस्व संकलन हुने अनुमान गरिएकोमा ५० करोड संकलन भएको हो।

आर्थिक वर्ष ०७७/७८ को बजेटबाट भौतिक पूर्वाधार निर्माणतर्फ २१ किलोमिटर सडक कालोपत्र गरिएको छ। यस्तै ११३.६ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ७५८.२ किलोमिटर कच्ची सडक निर्माण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यस्तै ११ वटा झोलुङ्गे पुल, ७ वटा सडक पुल, जनता आवास कार्यक्रमतर्फ दलित विपन्न समुदायका ७६७ घर गत आर्थिक वर्षको बजेटबाट निर्माण गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सिंचाइतर्फ २ हजार १४५ हेक्टर जमिनमा थप सिंचाइ सुविधा उपलब्ध गराईएको छ। खानेपानीतर्फ ५ हजार ७१० थप घरधुरीमा स्वस्छ खानेपानी सुविधा, नदी नियन्त्रणतर्फ १८.७७ किलोमिटर तटबन्ध निर्माण गरिएको छ। जसबाट १८० हेक्टर थप जमिन उकासिएको छ।

यस्तै विद्युतीकरण विस्तार तथा सौर्य उर्जा जडान गरी थप ३ हजार ५४० घरधुरी लाभांविध भएका छन्।

गत आर्थिक वर्षको बजेटबाट बिभिन्न जिल्लामा वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय भवन निर्माण लगायतका पूर्वाधारहरु निर्माण गरिएको कार्यालयले जनाएको छ।

कोभिड– १९ नियन्त्रण प्रतिकार्यको लागि संयन्त्र, पूर्वाधार तथा बजेटको व्यवस्था, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको लागि प्रोत्साहन भत्ता पनि आर्थिक वर्ष ०७७/७८ को बजेटबाट व्यवस्था गरिएको छ।

वार्षिक प्रगति समिक्षा गर्नेक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड महामारीको प्रतिकुल अवस्थामा पनि बजेट खर्चमा राम्रो प्रगति भएको बताएका छन्। प्रदेश सरकारको कार्यसम्पादनको प्रभावकारिता तथा बजेट कार्यान्वयनको प्रगति वृद्धि हुँदै जानुमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व, कर्मचारीको भूमिका राम्रो रहेको मुख्यमन्त्री शाहीले बताए।

उनले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक तयारी थाल्न निर्देशन दिएका छन्।

www.setopati.com

प्रतिकृया दिनुहोस्