RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१३ गते
११६३ पटक

काठमाडौँ — संसदीय समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई खोपको व्यवस्था गर्न निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले कोरोना संक्रमणका कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । परीक्षाअघि नै परीक्षणको व्यवस्था गर्न र संक्रमण देखिएर सहभागी हुन नसक्ने अवस्था भएमा दोस्रो चरणमा परीक्षा दिने व्यवस्था गर्न समितिले निर्देशन दिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीले भनिन्, ‘४ लाख विद्यार्थी छन् । उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ । साउन ३१ गतेबाट परीक्षा हुने भएकाले अझै समय छ ।’ बढी विद्यार्थी भएका विद्यालयमा परीक्षा सञ्चालन गर्न कठिनाइ हुने अवस्थामा केन्द्रको संख्या बढाउन पनि सरकारलाई समितिले सुझाव दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ का परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । कोरोना महामारीका कारण यसपटक होम सेन्टर (विद्यार्थीले पढेकै विद्यालय) मा नै परीक्षा लिइने व्यवस्था गरिएको छ । यसअघि देशभरका सीमित परीक्षा केन्द्रमा मात्रै परीक्षा सञ्चालन हुँदै आएको थियो । जेठमा हुने कक्षा १२ को परीक्षा निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । करिब ४ लाख परीक्षार्थी परीक्षाको प्रतिक्षामा छन् ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्