विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)
का अनुसार मलेसियामा ३७ जना इराक, र युगान्डामा १–१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारत सहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।
समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१.८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा भने थप कोरोना संक्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।
www.karobardaily.com.