RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१९ गते
४९७ पटक

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका–१ स्थित भ्रेमाथाङ चौरबाट जमिनै सोहोरेर खसिरहेको बाढीले मेलम्ची खोलाको तटीय क्षेत्रमा क्षति थप बढेको छ। हेलम्बु गाउँपालिकाका चनौटे, ग्याल्थुम, मेलम्ची नगरको तालामाराङ र मेलम्ची बजारमा कटान नरोकिँदा दिनहुँजसो घरटहरा बगिरहेका छन् ।

मेलम्ची खोलामा आएको बाढीले सोमबार राति मेलम्ची–११ मा बगाएको घर । तस्बिरः देवराज सुवेदी/राससगत शनिबारदेखिको बाढीका कारण सोमबार बेलुकीसम्म सयभन्दा बढी घरटहरा बगिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिनमा ४५ वटा पक्की र ६३ वटा कच्ची घर रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनका अनुसार चारवटा घर पानीको बहावले छोपिएका छन् । दुईवटा पक्की पुल पनि खोलाले पुरिएका छन् । ‘अहिलेसम्म १०८ जना विस्थापित भएका छन्,’ पोखरेलले भने, ‘२२ वटा घर जोखिममा छन् । हेलम्बुको वडा न‌ं १ बाहेक अन्यत्र बिजुली पनि छैन । सडक सम्पर्क टुटेको छ ।’

जिल्ला प्रहरी उपरीक्षक राजन अधिकारीका तीन मुख्य बजारका तटीय क्षेत्रका जग्गा निरन्तर कटान भइसकेका छन् । शनिबारकै बाढीले कटान गरेका घरटहरा सोमबार बेलुकी बगेको उनले बताए । शनिबार बेलुकी हेलम्बु र मेलम्चीको ग्याल्थुम झोलुंगे पुलसहित कच्ची र पक्की गरी एक दर्जन घर बगाएको थियो । तटीय क्षेत्रका बजारबीच उर्लिएर बगिरहेको बाढीले आइतबार हेलम्बुको चनौटे बजार जोड्ने रातो मोटरेबल पुल बगाउँदै ग्याल्थुम बजारका ४० घर जोखिममा पारेको थियो ।

खासै वर्षात नभए पनि बाढी आउने क्रम नरोकिँदा स्थानीय आत्तिएको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘पानी परेको छैन, तैपनि कालो लेदोको बाढी आउने क्रम रोकिएको छैन, कहिले सतह बढ्छ कहिले घट्छ, यसै भन्न सकिँदैन, तटभेगबाट बस्ती सार्नुबाहेक अन्य विकल्प देखिएन,’ उनले भने ।

बाढीले सडक बगाएपछि तिम्बुभन्दा उताका बस्तीको अवस्था थाहा हुन नसकेको स्थानीय प्रकाश दाहालले बताए । उनका अनुसार तालामाराङमा मात्र एक दर्जन र मेलम्ची बजारमा सातवटा घर बगेका छन् । त्यहाँका बासिन्दा अहिले माथिल्लो भेगमा गएर बसिरहेका छन् । मेलम्ची बजारबाट हेलम्बु पुग्ने करिब १२ किलोमिटर सडक बीचबीचमा बाढीले बगाएको उनले बताए । ‘त्यहाँ किनारका बजार सबै प्राय: ध्वस्त बनेका छन्, स्थानीय बासिन्दा विद्यालय, सामुदायिक भवन, छिमेकीकोमा आश्रय लिइरहेका छन्,’ उनले भने । त्यसबाहेक मेलम्ची नगरको बाहुनेपाटीको मोटरेबल पुल जोखिममा परेको उनको भनाइ छ ।

भूगर्भविद् र प्राविधिक भ्रेमाथाङ पुग्न सकेनन्

मेलम्ची बाढीको उद्गमस्थल हेलम्बु गाउँपालिकाको वडा–१ स्थित सेमेसिदाङ हिमशृ‌ंखलाको काख भ्रेमाथाङ चौरमा भौगर्भिक अध्ययन गर्न खटिएका भूगर्भविद् र विज्ञको टोली त्यहाँ पुग्नै सकेको छैन ।

आइतबार विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खानी तथा भूगर्भ विभागसहित बाढीपहिरो विज्ञ, अन्वेषक र प्राविधिकको चार जनाको टोलीले ह्योल्मोभूमिको पहिरो क्षेत्र मेलम्चीघ्याङबाटै अवलोकन गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पौडेलका अनुसार विभिन्न क्षेत्रको अध्ययन गर्न हेलम्बुको भ्रेमाथाङसहित अन्य विभिन्न भागमा भूगर्भविद्को टोलीले हेरेको थियो ।

हेलिकप्टरको माध्यमबाट एक टोली मेलम्ची हुँदै हेलम्बु र अर्को समूहले यांग्री, लार्केसहित अर्को समूह भने हेलम्बुको भ्रेमाथाङ पुग्ने प्रयास गरेको उनले उल्लेख गरे । ‘बादल र त्यहाँको भूगोल प्रतिकूल वातावरणकै कारण हेलिकप्टरबाट जान नसकिएपछि मेलम्ची घ्याङबाटै भ्रेमाथाङ अवलोकन गरेर फर्किंयौं, स्थानीयसँग भेट्यौं, हप्तादिनमा बाढीबारे ‘इनिसियल रिपोर्ट’ तयार हुनेछ,’ उनले भने ।

www. ekantipur.com

प्रतिकृया दिनुहोस्