
काठमाडौं । एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् ।
३ सय १९ भन्दा बढी पालिकाहरुमा लगत संकलन पूरा भएर वर्षौँदेखि जारी समस्याको दिगो समाधान हुने दिशातिर सरकार अगाडि बढिरहेको बेला राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौँ भूमिहीन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमिनको अधिकारसम्बन्धी मौलिक हकसम्बन्धी मौलिक हकमाथि कुठराघात गरेको एमालेको विज्ञप्तिमा उल्लेख छ ।
करिब १४ महिनाको अवधिमा आयोगले मुलुकका ७ सय ४७ पालिकाहरुसँग सम्झौता गरेको र यस अवधिमा २ लाख ४७ हजार ९६० दलित र सुकुम्बासी तथा ९ लाख २२ हजार ८०१ अव्यवस्थित बसोबासीहरुले विवरण फारम भरिसकेको एमालेले उल्लेख गरेको छ ।
“युगन्तकारी राजनीतिक परिवर्तनको लाभ आर्थिक र सामाजिक रुपले विपन्न वर्गले पाउन सकेमा मात्रै परिवर्तनप्रति उनीहरुको अपनत्व विकास हुन सक्छ र त्यसले मात्रै परिवर्तनले सार्थकता पाउन सक्छ,” विज्ञप्तिमा भनिएको छ,“सरकारको यस निर्णयले विपन्न वर्गका अपेक्षामाथि ठूलो आँच पुर्याएको छ ।