
काठमाडौं : व्यंग्य सिर्जना गर्दै आएका दिनेश लम्सालको संस्करणात्मक कृति ‘हाफ जिन्दगी’ सार्वजनिक गरिएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच बुधबार कृति सार्वजनिक गरिएको हो। प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले कृतिको विमोचन गरेका हुन्।
नेपाल सरकारका लेखा अधिकृतका रूपमा कार्यरत लम्सालले आफ्ना बाल्यकाल, किशोरावय, युवा अवस्थाका भोगाइलाई हाफ जिन्दगीमा उतारेको बताए।
कार्यक्रममा कृतिमाथि प्रकाश पार्दै समालोचक डा. हरि सिलवालले लेखकले कृतिमा आफ्नै जिन्दगीमाथि व्यंग्य गरेका र यस्तो सत्य कुरा लेख्ने दुस्साहस जो-कोहीले गर्न नसक्ने बताए। बाल्यकाल रोइरहेको, आर्तनाद गरिरहेको र कष्टमय रहेको, शैक्षिक जीवनका हन्डर र ठक्करहरू पठनीय र स्मरणीय रहेको उनले धारणा व्यक्त गरे।
नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन घिमिरेले लकडाउनको समयको सदुपयोग गर्दै हाफ जिन्दगी बजारमा ल्याएकोमा बधाई दिँदै लेखकलाई विगतप्रति गुनासो नभइ सम्मान गर्न सुझाव दिए।
साहित्यकार तथा प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य देवी नेपालले निजामती क्षेत्रबाट एक पछि अर्को साहित्यकार जन्मनु एकेडेमीकै लागि समेत गर्वको विषय भएको बताए।
प्रतिष्ठानका कुलपति उप्रेतीले निजामती सेवामा लाखौं कर्मचारीमध्येबाट केही कर्मचारी पछिल्ला दिनमा साहित्य लेखनका क्षेत्रमा समेत सक्रिय रहेको पाउँदा गर्व लागेको सुनाए।
५ अध्याय समेटिएको हाफ जिन्दगीमा लेखकले इमान्दार ढंगले आफ्ना बालापन, भोगाइ, असाध्य कष्टकर युवावय हुँदै सरकारी सेवामा प्रवेश गर्दासम्मका भोगाइलाई उतारेका छन्।
लम्सालको यो कृति बीएण्डबी पब्लिसर तथा डिष्ट्रिब्यूटर्स प्रालिले बजारमा ल्याएको हो।कृतिको मूल्य ३५१ रुपैंया तोकिएको छ।