
यो साता ६ प्रतिशतले कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत हप्ताको तुलनामा एक सातामा ६ प्रतिशतले केस बढेको जनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबारको संसद् बैठकमा अघिल्लो साताभन्दा यो साता ६ प्रतिशतले कोभिड केस बढेको तथ्य प्रस्तुत गरेका हुन् ।
औसतमा नेपालमा कोभिड संक्रमण दर भने १९ प्रतिशतको वरिपरि छ । अघिल्लो साता र यो साता कोभिड संक्रमित संख्याका आधारमा केस बढेको मन्त्रालयले जनाएको छ । बिहीबार तीन हजार दुई ६० नयाँ संक्रमित थपिएका छन् । १५ चार सय ६२ परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा ३२ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म करिब ३७ लाख २९ हजार एक सय ९ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । सात लाख २५ हजार सात सय ६९ संक्रमित पत्ता लागेका छन् । ६ लाख ७७ हजार तीन सय ७७ जना निको भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परीक्षण भएको छ । २.६ प्रतिशत संक्रमित छन् । औसत पजिटिभ प्रतिशत १९.४ रहेको छ । मृत्युदर १.५ प्रतिशत छ ।
संसद् बैठकमा मन्त्री श्रेष्ठले कोभिड संक्रमणको रोकथाम, व्यवस्थापन, उपचारलगायतका विषयमा जानकारी दिएका थिए । उनले हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या १९ पुगेको बताए । ‘आगामी पाँच महिनामा थप अनुमानित एक लाख ९३ हजार संक्रमित हुनेछन् । करिब ३८ हजारलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ । जसमध्ये नौ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नेछ, सोही प्रक्षेपणअनुसार मन्त्रालयले काम गरिरहेको छ,’ उनले भने ।
नयाँ पत्रिका दैनिकबाट…………