RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/३२ गते
५९६ पटक

गर्भवती र स्तनपान गराइरहेका महिलाका लागि समेत कोभिडविरुद्धका भ्याक्सिन सुरक्षित रहेको पुष्टि भएको छ । यसैकारण, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाउन सक्ने गरी स्वीकृति दिएको छ । पछिल्लो समय भएका अध्ययनले गर्भवती महिला र गर्भमा रहेको शिशुमा खोपले असर नगर्ने पुष्टि गरेपछि आमा र शिशुलाई संक्रमणबाट जोगाउन खोप लगाउने सकिने सिडिसीले जनाएको हो ।

सिडिसीले केही दिनअघि भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको हो । सिडिसीले सबै गर्भवती महिलालाई खोप लगाउन आग्रहसमेत गरेको छ । यस्तै, पछिल्लो समय देखिएको डेल्टा भेरियन्टले गर्भवती र शिशुमा असर गर्न सक्ने हँुदा सुरक्षित हुन भ्याक्सिन लगाउन सिडिसीले अनुरोध गरेको छ ।

अमेरिकासहित १८ देशमा यसअघि नै गर्भवती महिलामा कोभिडविरुद्धको भ्याक्सिन प्रयोग भइरहेको छ । खोप निर्माण भइसकेपछि सुरुवाती चरणमा भ्यक्सिनले गर्भवतीलाई असर गर्न सक्ने भन्दै प्रयोगमा रोक लगाएको थियो । विभिन्न अध्ययनले सुरक्षित देखाए पनि अन्य देशहरूमा भ्याक्सिन लगाउन भने सुरु गरेका थिएन ।

अमेरिकामा २३ प्रतिशत गर्भवती र स्तनपान गराएका महिलाले लगाए भ्याक्सिन
अमेरिकामा अहिलेसम्म जम्मा २३ प्रतिशत गर्भवती र स्तनपान गराइरहेका महिलाले कोभिडविरुद्धको भ्याक्सिन लगाएका छन् । पछिल्लो समय गर्भवतीमा पनि संक्रमण बढ्दै गएकाले अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरिएको छ । गर्भावस्थामा स्वास्थ्य स्थिति संवेदनशील हुने भएकाले संक्रमणको जोखिम उच्च रहन्छ । पछिल्लो समय फैलिएका डेल्टा भेरियन्ट अझै बढी संक्रामक भएकाले गर्भवतीका लागि खोप निकै राम्रो हुने विज्ञहरूले बताएका छन् ।

पछिल्ला केही अध्ययनले कोभिड संक्रमणका कारण गर्भवतीमा प्रि–इक्लेम्पसियाकोे (गर्भवतीमा देखिने रक्तचापजन्य समस्या) जोखिम बढाएको देखाएको छ । योसँगै शरीरमा अन्य लक्षण नदेखिएका व्यक्तिहरूमा समेत बच्चा छिटो जन्मिने वा गर्भमै बच्चाको मृत्यु हुने सम्भावना बढ्न सक्ने बताइएको छ । संक्रमण गम्भीर भएमा गर्भावस्थाको मधुमेह वा कम तौलको बच्चा जन्मिन सक्नेसमेत जोखिम रहेको विज्ञहरूले बताएका छन् । एकदमै दुर्लभ अवस्थामा, भाइरस भ्रूणमा प्रसारित गर्न सक्नेसमेत देखिएको सिडिसीले जनाएको छ ।

गर्भपतनको जोखिम कम
सिडिसीका निर्देशक डा. रोसेल वालेन्स्कीले गर्भावस्थाको पहिलो २० हप्तामा एमआरएनए खोप लगाएका गर्भवतीमा गर्भपतनको जोखिम नरहेको बताएका छन् । दुई हजार पाँच सय गर्भवतीमा मोर्डना र फाइजर भ्याक्सिन लगाएर गरिएको सर्वेक्षणले उनीहरूको गर्भमा कुनै असर नपरेको देखिएको उनको भनाइ छ ।
सामान्य अवस्थामा सर्भेमा सहभागी गर्भवतीमध्ये ११ देखि १६ प्रतिशतमा गर्भपतन हुने गरेको पाइयो । कोभिड भ्याक्सिनेसनपश्चात् पनि जम्मा १३ प्रतिशत मै गर्भपतन भएको पाइयो । खोप लगाउँदा गर्भवतीमा कुनै ‘साइड इफेक्ट’ नदेखिएकाले खोप गर्भवतीका लागि समेत सुरक्षित रहेको सिडिसीको दाबी छ ।

गत अप्रिलमा जर्नल अफ मेडिसिनमा प्रकाशित एक तथ्यांकले समेत खोप प्रयोगपछि सामान्य अवस्थामा जस्तै शारीरिक लक्षण देखिएको अर्थात् गर्भावस्थामा हुने जोखिमको दर परिवर्तन नआएको उल्लेख गरेको थियो । मोटोपना र मधुमेह भएका महिलामा संक्रमणको जोखिम तुलनात्मक रूपमा बढी भएकाले स्वास्थ्य अवस्थाअनुसार खोप लगाउन सकिने ग्लोबल हेल्थ अर्गनाइजेसनले जनाएको छ । तर, खोपको क्लिनिकल ट्रायलको क्रममा गर्भवती र स्तनपान गराइरहेका महिलाहरू सहभागी नभएकाले सुरक्षाको तथ्यमा अझै अनुसन्धान गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । सिडिसीले भने भ्याक्सिनेट गरिएका महिला र बच्चाको स्वास्थ्यबारे नियमित अध्ययन गर्ने उल्लेख छ ।

नयाँ पत्रिका दैनिकबाट………….

प्रतिकृया दिनुहोस्