RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/४ गते
६२१ पटक

काठमाडौँ — नेपालमा कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाउनेको अनुपात भारतभन्दा बढी देखिएको छ । नेपालमा हरेक सय जनामध्ये झन्डै १६ जनाले पूर्ण डोज खोप लिएका छन् । भारतमा भने हरेक सय जनामा पूर्ण डोज लिनेको संख्या करिब ९ जना छ ।

एक डोज लगाउने भने नेपालको दाँजोमा भारतमा करिब दोब्बर छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्व एसिया कार्यालयका अनुसार भारतमा पूर्ण डोज खोप लगाएकाहरू सयमा ८.७९ जना छन् ।

दुवै देशमा खोप सुनिश्चितता उस्तैउस्तै देखिएकाले भारतमा देखिन सक्ने तेस्रो लहरभन्दा नेपालको अवस्था फरक नहुने विज्ञहरूले आकलन गरेका छन् । ‘खोप कार्यक्रमलाई द्रुत गतिमा विस्तार गरी भारतलाई पछ्याउनुको विकल्प छैन,’ कोरोना खोप समन्वय समितिका सदस्य डा. जीडी ठाकुरले भने, ‘सरकारले दसैं–तिहारसम्म कम्तीमा एकतिहाइ जनसंख्यालाई पहिलो डोज सुनिश्चित गरे सम्भावित तेस्रो लहरबाट बच्न सकिन्छ ।’

सरकारले असोजसम्म १८ वर्षमाथिका लक्षित जनसंख्याको एकतिहाइ र चैतसम्म १२ वर्षमाथिको सम्पूर्ण जनसंख्यालाई खोप लगाउने रणनीति लिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार १८ वर्षमाथिका एकतिहाइ जनसंख्या अर्थात् २ करोड १७ लाख लक्षित समूहमध्ये बिहीबारसम्म २८.२८ प्रतिशतले एक डोज खोप लगाएका छन् ।

भारतले आफैं खोप उत्पादन गर्ने भए पनि नेपालले अनुदान वा खरिद गर्नुपर्ने अवस्था छ । अन्य मुलुकमा निर्भर रहनुपर्ने जोखिमलाई हटाउँदा र वाचा गरिएअनुसार सबै मुलुकबाट खोप आए नेपालले भारतको तुलनामा बढी अनुपातमा खोप लगाइसक्ने डा. अधिकारीले दाबी गरे ।

डब्लूएचओ दक्षिणपूर्व एसिया कार्यालयका अनुसार नेपालले करिब ७० प्रतिशत स्वास्थ्यकर्मी, फ्रन्टलाइनर र ज्येष्ठ नागरिकलाई पहिलो डोज लगाइसकेको छ ।

पछिल्लो २४ घण्टामा ९१ हजार ११ जनाले खोप लगाएका छन् । बिहीबारसम्म अक्सफोर्ड–अस्ट्राजेनेकाको पहिलो डोज १९ लाख १५ हजार ५ सय १० र दुवै डोज ९ लाख ८२ हजार ८ सय ६० जनाले लगाइसकेका छन् ।

यस्तै, भेरोसेलको पहिलो डोज २९ लाख ५ हजार ४ सय ७५ र दुवै डोज १४ लाख ५ हजार ७ सय ८९ जनाले लगाएका छन् । जोन्सन एन्ड जोन्सनको एक डोज मात्र लगाउनुपर्ने खोप १३ लाख २० हजार ३९ जनाले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्