
काठमाडौँ – देशभरको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली भइ विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी न्यून चापीय प्रणाली नेपालबाट केही दक्षिण तर्फ रहेको छ।शनिबार दिउँसो देशभर नै सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिएकी छन्।
प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद शाक्यले बताएकी छन्।पहाडी क्षेत्रमा गेग्रानसहितको बहाव, बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।