RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/५ गते
४५२ पटक

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । नेकपा एमालेबाट दल विभाजन भई माधव नेपालको अध्यक्षतामा गठित नेकपा एमाले (समाजवादी)ले स्वयं अर्कै नयाँ नाम प्रस्ताव गरी आज निवेदन दर्ता गराएको हो ।

दुवै पक्षले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरेपछि आयोगले सोही निवेदनकै आधारमा दलमा तोकिएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई कानुन अनुसार सनाखत गर्न ९ भदौका लागि बोलाएको आयोगले जनाएको हो । सो सम्बन्धमा शुक्रवार निर्वाचन आयोगको पदाधिकारी बैठक बैठकसमेत बसेको थियो ।

नेकपा एमाले (समाजवादी)ले बुधवार दल दर्ताका लागि दिएको निवेदनमा उल्लेखित दलको नाम परिवर्तन गर्न निवेदन संशोधन दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

दल दर्ताका लागि आयोगले यही भदौ ९ गते सनाखतका लागि दलका सदस्यलाई बोलाएको छ । दलका सांसद र कार्यसमिति सदस्यको सनाखतपछि आयोगको बस्ने बैठकले दल दर्तासम्बन्धी निर्णय सुनाउने छ ।

यसअघि माधव नेपाल समूहले प्रस्ताव गरेको नामका विषयमा अनौपचारिक छलफल हुँदा विगत नेकपाकै जस्तो परिस्थिति आउन सक्ने आकलन गरी नाम परिवर्तनका लागि निवेदन संशोधन गरिएको अनुमान छ ।

गत फागुन २३ गते सर्वाेच्च अदालतबाट भएको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई ऋषि कट्टेलको नेकपासँग नाम मिल्न गयो भनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता खारेज गरेको थियो ।

महन्थ ठाकुरको अध्यक्षतामा गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि सनाखतका लागि आयोगले यही भदौ ९ गते नै बोलाएको छ ।

प्रतिकृया दिनुहोस्