RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/७ गते
७४० पटक

निर्वाचन आयोगले नेकपा एमालेले गत साता अद्यावधिक गरेर पठाएको केन्द्रीय कमिटीलाई तत्काल मान्यता नदिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीलाई अद्यावधिक गरी २६० सदस्यीय बनाएको जानकारी सहितको पत्र आयोगमा पठाएका थिए। आयोगले पछिल्लो अद्यावधिक विवरणलाई मान्यता नदिई २०७५ साल जेठ २ मा कायम एमालेको २०३ सदस्यीय कमिटीलाई मान्यता दिने भएको हो।

एमालेबाट अलग भई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठनका लागि आयोगमा दर्ता गराएका माधवकुमार नेपालले पेस गरेको केन्द्रीय समिति र संघीय सांसदको सनाखतका क्रममा आयोगले एमालेको पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो। ‘पार्टी विभाजन प्रक्रियाअनुसार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि बुधबार डाकिएको छ,’ आयोगका एक अधिकारीले भने, ‘एमालेबाट गत साता मात्रै केन्द्रीय कमिटी २६० सदस्यीय बनाएर आयोगमा पेस भए पनि अध्ययनकै क्रममा रहेकाले अद्यावधिक भएको छैन।

त्यसकारण आयोगले सनाखतका क्रममा २०७५ जेठ २ गते कायम एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने निर्णय गरेको छ। ती अधिकारीले अगाडि भने, ‘एमालेबाट पछिल्लो पटक पठाइएको विवरण अद्यावधिक भइसकेको छैन। पार्टी विधान र विवरण अध्ययनकै क्रममा छ। त्यसैले पुरानै सदस्य संख्यालाई आधार बनाएर सनाखत गराउन लागिएको हो।’

निर्वाचन आयोगले एमालेको पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिने भएपछि पार्टी विभाजन प्रक्रियामा रहेका नेपाललाई फाइदा हुने भएको छ। आयोगको यो निर्णयअनुसार नेपाल पक्षले सनाखतका क्रममा केन्द्रीय कमिटीका २०३ सदस्यको २० प्रतिशत आफ्नो पक्षमा पुर्‍याउँदा हुने भएको छ। त्यसैगरी ३१ जना सांसदको समर्थन भए पुग्नेछ। एमालेका प्रतिनिधिसभामा १२१ र राष्ट्रियसभामा ३३ गरी १५४ सांसद छन्।

नेपाललाई पार्टी विभाजन गर्न अप्ठेरो भएपछि सरकारले गत साता राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो। राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि संघीय संसदीय दल र पार्टी केन्द्रीय समिति दुवैमा कम्तीमा ४० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधानका कारण नेपाललाई एमालेबाट अलग हुन अप्ठेरो भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसदीय दल वा पार्टी केन्द्रीय समितिमध्ये कुनै एकमा कम्तीमा २० प्रतिशत सदस्य भए पार्टी फुटाउन सक्नेगरी अध्यादेश ल्याएको हो।

अध्यादेशमा दल विभाजनका लागि सहज बनाउने मात्रै होइन, विभाजन भइसकेपछि त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको नमानिने व्यवस्था गरिएको छ।

साथै अध्यादेशमा प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्रैराष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्थामा समेत थ्रेसहोल्डको प्रावधान हटाएरराष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गरेको दलका सदस्यले दफा ३३ को उपदफा २ बमोजिम नयाँ दल गठन गरेमा त्यस्तो दलले समानुपातिक तर्फको प्रतिशत पूरा गर्न आवश्यक छैन भन्ने व्यवस्था राखिएको छ। दल फुटाउन सहज हुने गरी सरकारले ल्याएको अध्यादेश आलोचना भइरहेको छ।

सांसदको सनाखतका सचिवालयलाई पत्र पठाइँदै

निर्वाचन आयोगले छुट्टाछुट्टै दल दर्ताका लागि आवेदन दिएका नेपालर ठाकुरले पेस गरेका सांसदको विवरण साबिकमा तिनीहरूरहेको पार्टीका हुन् या होइनन् भन्ने सनाखतका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पत्र लेख्ने निर्णय गरेको छ। दल दर्ताका लागि नेपालले पेस गरेका सांसदहरू नेकपा एमालेर ठाकुरले पेस गरेका सांसदहरू जनता समाजवादी पार्टीका हुन् या होइनन् भन्ने सनाखत गर्न सभामुखलाई पत्राचार गर्ने निर्णय गरेको हो। ‘नयाँ दल दर्ताका लागि पेस गरिएको विवरणमा हस्ताक्षर गरेका सांसदहरू हुन् वा होइनन्, सभामुखलाई सोध्ने निर्णय भएको छ,’ आयोग स्रोतले भन्यो, ‘आइतबारर सोमबार बिदा भएका कारण मंगलबार कार्यालय खुल्नबित्तिकै संसद् सचिवालयमा पत्र पठाइनेछ।’

एमालेले पार्टी ह्विप उल्लंघन गरेकोलगायत आरोप लगाउँदै नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा गत साता नै पत्राचार गरिसकेको छ। तर सभामुख सापकोटाले एमालेको पत्र कार्यान्वयन गरेका छैनन्। उनी कार्यालयमा अनुपस्थित हुँदै आएका छन्।

सनाखत बुधबार

आयोगले नयाँ दल दर्ताका लागि छुट्टाछुट्टै निवेदन दिएका नेपालर ठाकुर पक्षका नेताहरूलाई सनाखतका लागि बुधबार डाकेको छ। एमालेबाट अलग हुन नयाँ दल दर्ता प्रक्रियामा रहेका नेपाल र जनता समाजवादी पार्टीको आधिकारिकता नपाएपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका ठाकुर पक्षका नेतालाई सनाखतका लागि आयोगले यही भदौ ९ गते बुधबार बिहान साढे ११ बजे बोलाएको हो। आयोगका प्रवक्ताराजकुमार श्रेष्ठले नयाँ दल दर्ताका लागि अलगअलग निवेदन दिएका दुवै पक्षलाई सनाखतका लागि बोलाइएको बताए।

‘दल दर्ताका लागि आयोगमा आवेदन दिँदा जजसको हस्ताक्षर छ त्यसको सनाखतका लागि बोलाएका छौं,’ श्रेष्ठले भने, ‘सनाखत सकिएपछि हामीले आयोगमा पेस गर्छौंर सोहीअनुसार दल दर्ताको निर्णय हुनेछ।’ उनले दल दर्ताका लागि सुरुमा आयोगमा प्रस्ताव गरिएको नाम जुधेपछि नेपालले नेकपा (एकीकृत समाजवादी)र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल बनाउन पत्राचार गरेका छन्। सुरुमा नेपालले नेकपा एमाले (समाजवादी)र ठाकुरले जसपा (लोकतान्त्रिक) प्रस्ताव गरेका थिए।

नागरिक दैनिकबाट………….

प्रतिकृया दिनुहोस्