RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/८ गते
५७३ पटक

पुरानै नियमलाई यथावत् राख्दै भदौ १६ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो।

संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको छ।

यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन्। मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन। यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ ।

‘अहिले नै कडाइ गर्नुपर्ने अवस्था छैन। तर, संक्रमणबाट बच्ने गरी सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ,’ सिडिओ पराजुलीले भने, ‘संक्रमणदर बढ्यो भने प्रशासनले जतिवेला पनि कडाइ गर्न सक्छ।’

 

प्रतिकृया दिनुहोस्