RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/१७ गते
७४२ पटक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता राम्रचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनमा आफूहरूको तर्फबाट सभापतिमा एउटै उम्मेदवार बनाएर जाने घोषणा गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले पार्टी र लोकतन्त्र बचाउन विचार मिल्ने समूहबाट साझा उम्मेदावरी दिने बताए ।

‘हामी पार्टीभित्र विचार मिल्नेहरू सभापतिको एउटै उम्मेदवार दिएर हामी अगाडि बढ्छौं भनेर आज हामी देशभरका साथीहरूलाई आश्वस्त गर्न चाहान्छौं,’ पौडेलले भने, ‘आपसमा केही खटपट नगरिकन एकताबद्ध भएर पार्टी बचाउनका लागि, लोकतन्त्र बचाउनका लागि हामीहरू एक भएर अगाडि बढ्छौं । १४ औं महाधिवेशनको अन्तिमसम्म पनि हाम्रो एकता अटुट रहन्छ ।’

व्यक्ति अहिलेसम्म किन नतोकिएको भन्ने पत्रकारको प्रश्नमा पौडेलले भने, ‘ व्यक्ति को भनेर तोक्नलाई हामीले केही समय बाँकी राखेका छौं । केही समयपछि हामी यो निर्णयमा पुग्छौं ।’

उनको जवाफमा पत्रकारहरू आश्वस्त नभएपछि नेता अर्जुननरसिंह केसीले आफूहरूको उपस्थितिलाई नै विश्वास गर्न आग्रह गरेका थिए। ‘हाम्रो यो उपस्थितिलाई नै विश्वास भनेर मान्नुहोस् न,’ उनले भने ।

पत्रकार सम्मेलनमा उनले आफ्ना सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति पनि असन्तुष्टि जनाए । सरकारले नयाँ किसिमले उत्साह दिन नसेको उनको टिप्पणी थियो । ‘‘दुई तिहाईको कम्युनिष्ट सरकार ढलेपछि हाम्रो पार्टीबाट जनतालाई आशा थियो,’ पौडेलले भने, ‘हाम्रो पार्टीका सरकार जति सवल, सक्षम हुनुपर्थ्यो, त्यति भएन । नयाँ किसिमले उत्साह दिनुपर्ने थियो, त्यो नसकिरहेको पनि हामीले महसुस गरेका छौं ।’

प्रतिकृया दिनुहोस्